काठमाडौं- जनकपुरबाट नेपालको तेस्रो भ्रमण सुरु गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भरखरै काठमाडौं आइपुगेका छन्।

एयर इन्डियाको विमानमार्फत नेपाल आएका मोदीले करिब ३ घन्टा जनकपुरमा बिताए। उनले रामजानकी मन्दिरमा पूजा गर्नुका साथै अयोध्या-जनकपुर जोड्ने बस सेवाको उद्घाटन गर्दै नागरिक अभिनन्दन पनि ग्रहण गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरे।

मोदी विमानस्थलबाट सोझै हायात होटल जानेछन्। त्यहाँबाट उनी टुँडिखेल पुग्नेछन्। टुँडिखेलमा ४ बजे 'गार्ड अफ अनर' दिइने तय भए पनि जनकपुरबाट आउन ढिला भएकाले समय सर्न सक्नेछ। त्यसपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ। त्यसपछि समकक्षी केपी शर्मा ओलीसँग मोदीले केहीबेर छलफल एवं वार्ता गर्ने तयारी छ।

साँझ प्रधानमन्त्री मोदी समकक्षी ओलीले सम्मानमा राखेको रात्रिभोजमा सरिक हुनेछन्।