काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको विकास गर्न चाहेकोे बताएका छन् । जसका लागि आफुले ‘फाइभ टी’ को अवधारण समेत तयार गरेको जानकारी दिएका छन् । परम्परा,व्यापार, पर्यटन, प्रविधि र परिवहन क्षेत्रको विकास सँगै दुवै देशको विकासलाई अघि बढाउन चाहेको उनले बताएका हुन् ।

एक अर्काको संकट र समस्यामा दुबै देश समाधानका लागि उभिएको बताउँदै उनले भने ‘इतिहास साक्षी छ, एकअर्काको संकटमा दुवैले सहयोगको गरिरहेको छ ।’ उनले भने, ‘नेपाल र भारतको आस्था, प्रकृती, चुनौती, सपना पनि उस्तै छ ।’नयाँपत्रिकामा खबर छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालका प्रधानमन्त्री ओली भारत जाँदा उनलाई स्वागत गर्ने क्रममा नेपालको बारेमा जान्ने मौका मिलेको पनि उनले बताए । उनले ओलीले देशलाई समृद्ध बनाउन देखेको सपना र विकासका योजनाहरुमा आफुहरुको पनि साथ रहने प्रतिबद्धता समेत गरे ।

हाइवे, सुचना, विद्युत, रेल, हवाइ र जलमार्गमार्फत दुवै देश जोडिनुपर्नेमा उनले जोड दिए । साथै नेपाल–भारतका किसानहरुको आयआर्जन वृद्धि गराउन कृषिक्षेत्रमा सहकार्य गर्दै विकासका योजना अघि बढाउने गृहकार्य गर्ने समेत उनका भनाइ छ ।

नेपालले एकै वर्षमा स्थानीय, प्रदेश र प्रतिनिधीसभाको चुनाव गर्न सम्भव भएकोमा नेपालीलाई बधाइ समेत दिएका छन् । साथै सात वटै प्रदेश सरकार गठन गरेकोमा भारतले पनि गर्व महशुस गरेको बताए । नेपाल पनि तीव्र विकासको गतिमा रहेको मोदीले बताए ।

जनकपुरको बाह्रविगहामा आयोजित नागरिक अभिनन्दनका क्रममा उनले यस्तो बताएका हुन् । मोदीले हिन्दी, मैथिली र नेपालीमा भाषण गरेका थिए । अभिनन्दन सकेर उनी काठमाडौंका लागि जनकपुरबाट छुटिसकेका छन् ।