२९ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपश्चात नेपाल र भारतबीच १६ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले नेपाललाई थप हवाई रूट दिनेबारे चाँडै प्राविधिक छलफल गर्न आ–आफ्ना देशका अधिकारीलाई निर्देशन दिएका छन् ।
संयुक्त वक्तव्यको सातौं बुँदामा आकाश, जमिन र पानीबाट दुई देशबीच रहेको आर्थिक र भौतिक सम्पर्कलाई बलियो पार्न थप कदम चाल्न दुई प्रधानमन्त्री सहमत भएको उल्लेख गरिएको छ ।
‘भारतले नेपाललाई थप हवाई रूट दिँदा गर्नुपर्ने प्राविधिक छलफल चाँडै गरी नागरिक उड्ययन क्षेत्रमा द्वीपक्षीय सहयोग विस्तार गर्ने सम्बन्धित अधिकारीलाई दुबै प्रधानमन्त्रीले निर्देशन दिएका छन्,’ वक्तव्यमा भनिएको छ ।
नेपालमा अहिले भारतीय आकाश भएर एउटा रूट (सिमरा)बाट मात्र जहाज प्रवेश गर्छन् । भैरहवामा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न नेपाललाई थप हवाई रूट नभई हुँदैन ।
संयुक्त वक्तव्यमा गत महिना प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएका समझदारीका विषयमा कुराकानी भएको र दुबै प्रधानमन्त्री कृषि, रेल र जलमार्गबारे प्रभावकारी कार्यान्वयन गर्न सहमत भएको उल्लेख गरिएको छ ।
भ्रमणका क्रममा भारतसँग रहेको नेपालको व्यापार घाटाबारे पनि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीले यसलाई कम गर्न आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । अनाधिकृत व्यापार रोक्ने र भारतीय बजारमा नेपाली वस्तुको पहुँका लागि व्यापार सन्धिको पुनरानवलोकन गर्ने विषयमा केही समयअघि भएको द्वीपक्षीय बैठकबाट निस्किएको निष्कर्षलाई दुबै प्रधानमन्त्रीले स्वागत गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीलाई भारत भ्रमणको निम्तासमेत दिएका छन् ।










