२९ वैशाख – झापाको मेचीनगर नगरपालिकामा बसले साइकललाई ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ ।

मेचीनगर–१० स्थित धाइजनमा ना४ख २८८१ नंको मातृ भाग्यरेखा बसले सोही दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट करीब २६ वर्षीय एक युवाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतकको नाम, ठेगाना खुल्न नसकेको प्रमुख राईले बताए । ‘तीव्र गतिमा रहेको बसले गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हो’, उनले भने ।

बस चालक रामशंखर राय र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक युवक भारतबाट कामको सिलसिलामा काँकडभिट्टा हुँदै नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । सडक दुर्घटनामा परी झापामा वैशाखमा मात्रै १२ जनाले ज्यान गुमाएका छन् ।