काँकरभिट्टा । झापाको काँकरभिट्टाबाट बम विस्फोट गराएको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले झापाको काँकडभिट्टामा यात्रवाहक बसमा बम विस्फोट गराएको आरोपमा नेत्रबहादुर चन्द ’विप्लव’ नेतृत्वको नेकपामा आवद्ध एक महिला कार्यकर्तालाई आइतबार पक्राउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ पर्ने नेकपा मेचीनगरका न्याय विभाग प्रमुख मेचीनगर ८ निवासी २६ बर्षीय स्मृति रिजाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखिएको छ। घटना विवरण अनुसार मेचीनगर नगरपालिकास्थित सुर्योदय यातायात प्रा.लि. द्धारा सञ्चालित मे १ ख २७२६ र मे १ ख २७३३ नम्बरको यात्रुवाहक बसमा आइतबार विहान बम विस्फोट गराएको बताइएको छ।

बिस्फोटबाट दुई बसमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। सोही बसमा विस्फोट गराएको आरोपमा रिजाल पक्राउ परेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए। त्यसैगरी दमक नगरपालिकास्थित दमक बस पार्कमा शंकास्पद बस्तु फेला परेको छ। सानो गोलो आकारको कालो रंगको शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

बम वा अरु कुनै वस्तु हो, यसका लागि नेपाली सेनाको बम निस्कृय टोली घटना स्थल पठाइसकेको प्रहरी कार्यालय झापाले जनाएको छ। यता नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यासलगायतका राष्ट्रघाती सम्झौता भएको भन्दै आइतबार गरेको नेपाल बन्दको प्रभाव झापामा आंशिक परेको छ ।