काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएर नयाँ बानेश्वर र अनामनगर आसपासबाट लुटिएको भनिएको तस्करीको ३३ किलो सुनको लगानीकर्ता भारतीय नागरिक ‘एमके’ भन्ने मोहनकुमार अग्रवाल रहेको पाइएको छ ।

गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको ‘सुन तस्करी छानविन समिति’ले मोहनकुमार अग्रवालको लगानीमा चूडामणि उप्रेती ‘गोरे’ सहितका तस्करहरूले उक्त सुन दुबईबाट थाई एयरलाइन्समार्फत नेपाल ल्याएको निष्कर्ष निकालेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी अपार्टमेन्टमा बस्दै आएका थिए ।

छानविन समितिले उनलाई नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म उनी पक्राउ पर्न सकेका छैनन् ।

सुन तस्करी छानविन समितिका एक सदस्यका अनुसार सिल्भर सिटीस्थित अग्रवाल बस्दै आएको फ्ल्याटमा करिब दुई महिनादेखि ताला लागेको छ । तस्करीको सुन लुटपाट प्रकरणमा सनम शाक्यको हत्यापछि प्रहरीले निगरानी बढाएको सूचना पाएसँगै अग्रवाल फरार भएका थिए ।

छानविन समितिले अग्रवालको घरमा काम गर्ने एक युवतीलाई बोलाएर सोधपुछ गरेको थाहा पाएसँगै अग्रवाल पत्नीसमेत फ्ल्याटमा ताला बन्द गरेर भारततिर लागेको बताइएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका राप्रपा (प्रजातन्त्रिक) का नेता भुजुङ गुरुङले समिति समक्ष बयान दिने क्रममा ३३ किलो सुनको लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका छन् ।

‘साढे ३३ किलो सुनमा मोहन अग्रवाल ‘एमके’ले लगानी गरेका थिए’– जिल्ला अदालत मोरङमा पेश भएको अभियोग पत्रमा उल्लेखित भुजुङको बयानमा भनिएको छ– ‘उक्त सुनको कमिसन मैले पनि पाउँथे तर गत फागुन ९ गते थाई एयरलाइन्स हुँदै काठमाडौं आएको उक्त सुन लुटिएको कुरा डा. भन्ने छिरिङ वाङ्गेल घले मार्फत मैले थाहा पाएको हुँ ।’

२०६९ सालपछि सुन तस्करी गर्न थालेका अग्रवालका तीनजना दाजुभाइ नै यस्तो काममा संलग्न रहेको पाइएको छ । राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ र चूडामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्करी सुरु गरेका एमके अग्रवाल समूहले बैङ्कक र दुईबाट सुन ल्याउने गर्थे ।

तस्करीका लागि नेपाली रकमको व्यवस्था एमकेले गर्दै आएका थिए, उक्त रकम बैङ्कक र दुबईमा रहेका नेपालीहरूको नेपालस्थित परिवार र आफन्तहरूलाई दिने र विदेशमा सोधभर्ना लिएर सुन खरिद गर्ने गरेको नेता भुजुङले समितिसमक्ष आफ्नो बयानमा बताएका छन् ।

तस्करीको सुनमा अर्बौं लगानी गर्दै आएका अग्रवाललाई समितिले फरार प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयमार्फत मोरङ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।

लुटपाटमा राप्रपा प्रजातान्त्रिकका नेताको संलग्नता

२०४८ सालदेखि नै सुन तस्करी गर्दै आएका राप्रपा (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङको समूह नै ३३ केजी सुन लुटपाटमा संलग्न रहेको पाइएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूको बयान र अन्य प्रमाणका आधारमा भुजुङकै समूहले सुन लुटेको खुल्न आएको छानविन समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिएका छन् ।

छानविन समितिले सुन लुटपाटमा संलग्न रहेको भन्दै गत बिहीबार भुजुङका भाञ्जा नाता पर्ने फाल्दुङ गुरुङलाई पक्राउ परेका छन् । पाल्दुङ डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेका सवारी चालक हुन् ।

डेविटर डा. भन्ने छिरिङ वाङ्गेल घले भुजुङ गुरुङका साला नाता पर्छन् । भुजुङकै डिजाइनमा छिरिङ वाङ्गेल र उनका चालक फाल्दुङ गुरुङले तस्करीको ३३ किलो सुन पुरानो बानेश्वर र अनामनगर आसपासबाट लुटेको छानविन समितिको निष्कर्ष छ ।

भुजुङको सालो नाता पर्ने डेबिटर डा. भन्ने छिरिङ वाङ्गेल घले २०६९ सालपछि सुन तस्करीको चेनमा जोडिएका थिए । मोहनकुमार अग्रवाल, पवन अग्रवाल, दरबार मार्गस्थित आरके डायमन्डको सञ्चालक राजेन्द्र शाक्य पनि त्यतिबेलादेखि नै सुन तस्करीको चेनमा जोडिएका थिए ।

भुजुङ र एमकेसहितको सुन तस्करीमा संलग्न उक्त समूहलाई त्यतिबेलादेखि नै त्रिभुवन विमानस्थलमा कार्यरत थाई एयरलाइन्सका कर्मचारीहरू गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठलगायतले सहयोग गर्दै आएका थिए ।

सुरुवाती चरणमा भुजुङको घरमै सुन लगिदिने एयरपोर्टका कर्मचारीहरूले पछि भुजुङकै सल्लाहमा उनको सालो डेविटर डा. भन्ने छिरिङ वाङ्गेल घले र भाञ्जा फाल्दुङ गुरुङले भनेको स्थानमा सुन छाड्ने गरेका थिए ।

पछिल्लो समय बेला–बेला मात्र चूडामणि उप्रेती र एमकेसँग मिलेर काम गरेजस्तो देखिए पनि आफ्नो सालो र भाञ्जासँग मिलेर भुजुङले सुन तस्करीको छुट्टै समूह निर्माण गरिसकेका थिए ।

तस्करीको सुन लुटपाट गर्दा मोहनकुमार अग्रवालले कतै उजुरी हाल्न नसक्ने र आफ्नो समूह छिट्टै मालामाल हुने देखेपछि भुजुङ समूहले उक्त सुन लुटेको बताइएको छ ।

गत फागुन ९ गते दुबईबाट आएको ३३ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सानु बन र पुण्यप्रसाद लामा ‘तक्ले’ले पुरानो बानेश्वरस्थित चूडामणि उप्रेतीले सञ्चालन गरेको अफिसमा जाँदै थिए । सोही क्रममा लुटेरा समूहले बानेश्वर र अनामनगर आसपासमा उक्त सुन लुटेपछि तस्करहरूले यातना दिने क्रममा सनम शाक्यकको हत्या भएको थियो । सुन छाड्न गएकामध्ये सानु बनले विमानस्थलमा गुडिरहेको पेट्रोल ट्याङ्करको चक्कामुनि छिरेर आत्महत्या गरेका थिए । बनसँगै सुन छाड्न गएका ‘तक्ले’ भन्ने पुण्यप्रसाद लामा मोरङ प्रहरीको हिरासतमा छन् ।

‘तक्ले’को बयान – ‘सुन लुटिएपछि भुजुङ टाढा भयो’

तस्करीको सुन चूडामणि उप्रेती ‘गोरे’ले भनेको ठाउँमा मोटरसाइकल लिएर छाड्न गएका व्यक्ति हुन् पुण्यप्रसाद लामा ‘तक्ले’ । सुन छानविन समिति समक्ष ‘तक्ले’ले सुन लुटपाटमा भुजुङकै संलग्नता हुनसक्ने शङ्कास्पद बयान दिएका छन् ।

‘उनीहरूले भुजुङ गुरुङलाई पनि फोन गरेर भेट्न बोलाएका थिए तर भुजुङ गुरुङ भन्ने मान्छेले आउन आलटाल गथ्र्यो र आउँदैन थियो’, मोरङ जिल्ला अदालतमा पेश गरिएको अभियोग पत्रमा उल्लेखित तक्लेको बयानमा भनिएको छ, ‘त्यस्तैमा एक दिन सोध्ने क्रममा भुजुङ गुरुङको सालो डेबिटर डा. भन्ने छिरिङ वाङ्गेल घलेलाई सुनको बारेमा चूडामणि उप्रेतीका मानिसहरूले सोधपुछ गर्दा निजले योसम्बन्धी मेरो भेना भुजुङ गुरुङलाई नै थाहा हुनुपर्छ भन्ने जवाफ दिएको थियो ।’

सुन तस्कर ‘गोरे’ले यातना दिने क्रमममा अधिकांश भरियाले ‘सुन भुजुङ गुरुङको मान्छेले लगेको’ बयान दिएका छन् । त्यो बयानलाई ‘गोरे’ ले भिडियो रेकर्ड गरेका थिए । भरियाहरूले यस्तो बयान दिएको थाहा पाएसँगै ‘गोरे’सँग राप्रपा (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङका टाढिएका थिए । तस्करको यातना खप्न नसकेर आत्महत्या गरेका सानु बनले पनि पुण्यप्रसाद लामालाई भुजुङ गुरुङको मान्छेले सुन लुटेको बताएका थिए ।

जग्गा कारोबारीतिर शङ्काको सुई

सहसचिव ईश्वरराज पौडेल नेतृत्वको सुन तस्करी छानविन समितिले सुन तस्करीबाट प्राप्त रकम जग्गा कारोबारमा प्रयोग हुने गरेको फेला पारेको छ ।

तस्करीबाट प्राप्त अर्बौं रुपियाँ जग्गा किनबेचमा प्रयोग हुने गरेको तथ्य फेला पारेसँगै समितिले जग्गा कारोबारमा संलग्नहरूलाई धमाधम बयान लिन थालेको छ ।

‘जग्गा कारोबार र सुन कारोबारीको कतै न कतै लिङ्क जोडिएको फेला परेपछि ठूला जग्गा कारोबारीमाथि पनि अनुसन्धान सुरु भएको छ’, समितिका एक सदस्यले भने, ‘संलग्नता पुष्टि भएमा जग्गा कारोबारीलाई पनि सङ्गठित अपराधमा मुद्दा चलाउँछौँ ।’ रातोपाटि बाट साभार