कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले खेतियोग्य जमिन प्लटिङ गर्ने क्रम बढेको भन्दै त्यसलाई तत्काल रोक्ने बताएका छन्। तराईको जग्गामा घरघडेरी र प्लटिङ गर्ने समस्याले जटिलता थपेको भन्दै त्यसका लागि सरकारले माथिबाटै कदम चाल्ने बताएका हुन्।

किसानलाई प्रोत्साहन र बाँझो राख्नेहरुको जग्गा सरकारले नियन्त्रणमा लिने प्रक्रिया समेत थालनी गर्ने बताए। सरकारले राम्रोसँग बाँझो राख्नेहरुको जमिन नियन्त्रणमा लिन नसके आयात गरेर खानुको विकल्प नरहुने र त्यस्ले उत्पादकत्व झन घटाएर परनिर्भरता बनाउने उनको भनाई छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इजरायलमा भएको २०औं अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी ‘एग्रीटेक २०१८’मा सहभागि भएर स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै मन्त्री खनालले मौसम र माटो पनि राम्रो नभएको देशले कृषिमा निक्कै राम्रो प्रगती गरेको भन्दै यान्त्रीकीकरण के हो भनेर इजरायलबाट सिक्नु पर्ने बताए।

मन्त्री खनालले इजराली समकक्षी उरी एरियलसँग भएको भेटमा प्राथमिकता निर्धारण गरेर आधुनिक कृषिका लागि नेपाललाई सहयोग गर्न आग्रह गरेका छन्।

सातवटै प्रदेशमा एक एक वटा सामुदायीक कृषि प्रणाली (पहिले कुनै एउटा प्रदेशमा शुरु गरिहाल्न), इजरायलका अनुभव प्राप्त कृषि विज्ञलाई नेपाल बोलाएर प्राविधिक तालिम दिन र कुटो कोदालोदेखि उच्च प्रविधिसम्म नेपालमै के कस्तो प्रविधि अपनाउन सकिन्छ भनेर सिकाउन आग्रह गरेको संचारकर्मीहरुसँग बताए। उक्त प्रस्तावमा इजरायल सरकार सकारात्मक भएको भन्दै छिट्टै सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर हुने समेत उनले दाबी गरे।