३१ वैशाख– गृहमन्त्री रामबहादुर थापाले खारेज गरिसकेको यातायातमा सिन्डीकेटवाला संस्थाको खातामा रहेको पैसा अवैध भएकाले सरकारको हुने बताउनुभएको छ । त्यसका लागि एउटा कार्यदल बनेको र त्यसको सिफारीस अनुसार उक्त रकम सरकारले प्रयोग गर्ने उहाँले बताउनुभएको हो ।

उहाँले यातायातपछि अन्य सबै क्षेत्रका सिण्डिकेट तोडिने, माफिया, डन र गुण्डाराज पनि समाप्त पारिने बताउनुभयो । गृहमन्त्री थापाले देशको अर्थतन्त्र माफिया, ठेकेदार, तस्कर र एकाधिकार (सिन्डीकेट) वालाको हातमा रहेको भन्दै तिनको अन्त्य आवश्यक भएको बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘राजस्व छलि गर्नेको हातमा देशको अर्थतन्त्र छ । बेथिति, अनियमितता, सबै क्षेत्रको तस्करी, कालोबजारी, लागुऔषधको पूर्ण नियन्त्रण र मदिराको व्यवस्थापन नभएसम्म विकास, समृद्धि र शान्ति सुरक्षा पनि हुन सक्दैन’ प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटमा थापाले भन्नुभयो, ‘सरकार यस्ता गलत प्रवृत्तिको अन्त्य गरेरै छाड्छ ।’

उहाँले ट्याक्सी, ट्रकलगायत यातयात र अन्य क्षेत्रमा विद्यमान सिन्डीकेट अन्त्य गर्ने अभियानमा सरकार लागेको भन्दै भ्रष्टचारलाई जरैदेखि उखेलेर फालिने बताउनुभयो । ‘यातायात, कृषि, उद्योग, स्वास्थ्यलगायत क्षेत्रमा रहेको एकाधिकारलाई उखेल्न सरकार प्रतिवद्ध छ । आर्थिक प्रगतिलाई रोक्ने यिनै तत्व हुन । धेरै टाट पल्टने मुठिभर फस्टाउने चलनको अन्त्य आवश्यक छ’ उहाँले भन्नुभयो ।

गृहमन्त्री थापाले देशबाट गुण्डाको सफाया गरिने बताउनुभयो । त्यसका लागि गुन्डाको ब्ल्याक लिस्ट तयार भइरहेको जानकारी दिनुभयो । मुलुकमा जाति, धर्म, क्षेत्रको नाममा अस्थिरता ल्याउने तत्वलाई नियन्त्रण र निस्तेज गर्न सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । ‘नेपाल बन्दलगायत ध्वंसात्मक काम गर्ने, संविधान र कानुन विपरीत काम काम गर्नेलाई निस्तेज पार्न कठोर कदम चाल्ने छौ’ थापाले भन्नुभयो ।

विकासको लागि स्थायित्व र स्थायित्वका लागि पार्टी एकता अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । ‘पार्टी एकता अन्तिम चरणमा पुगेको छ । वैचारिक, राजनैतिक र सांगठनिक आधार तयार भएका छन्’ उहाँले भन्नुभयो ।