काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा आफूले नेपालको हितविपरीत लेखेको वा बोलेको देखाउन चुनौती दिएका छन्। उनले राजधानीमा मंगलबार आयोजित युवासंघ नेपालको २८ औँ वार्षिकोत्सवका क्रममा संसदमा नेपाली कांग्रेसका नेता गगन थापाले सोमबार बोलेका विषयप्रति पनि कटाक्ष गर्दै भने, ‘काङ्ग्रेसका युवा नेता जसले गरी खालान् भनेको त, झन् विरोध मात्र गर्छन्।’

उनले रोचक पाराले सतहमा उठेका सबै विषयलाई सम्बोधन गरे, युवासंघको कार्यक्रममा सम्बोधन गर्दै। ‘एक जनाले आतिएर एक्लाएक्लै भेटेर कुरा गर्नुपर्छ भन्नुभो,’ उनले प्रश्न गरे, ‘मेरो जवाफ छ, एउटा राष्ट्रको हैसियत बचाउन एक्लाएक्लै कुरा गर्न हुन्छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले हामी हाम्रो प्राथामिकता आफैँ तोक्ने उल्लेख गर्दै त्यसमा भारतले सहयोगमात्र गर्ने बताए। ‘काङ्ग्रेसलाई त अझै धक्का छ,’ उनले भने, ‘अरु सामाजिक सन्जालमा झुन्डिएका छन्, भात खाने फुर्सद छैन होला।’

उनले आफूले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्ने बताए। ‘केही दिन पछि चीन जाँदै छु,’ उनले भने, ‘मोदीले हाम्रो सबै व्यवस्था स्वीकार गरेर गएका छन्।’

उनले भ्रष्टाचार नियन्त्रण चाँडै हुने दाबी पनि गरे। ‘सिन्डिकेट पनि तोडियो,’ उनले भने, ‘अरु क्षेत्रको पनि तोडिन्छ।’

उनले मोदी भ्रमणका क्रममा ब्यापारका विषयमा गम्भीर वार्ता भएको पनि बताए।

प्रधानमन्त्री ओलीले युवा संघलाई निर्देशन दिँदै युवाले जे पनि गर्नसक्ने बताए। ‘पबित्र प्रतिस्पर्धामा उत्रिनु पर्छ,’ उनले भने, ‘युवा गतिशील हुनैपर्छ। दौडमा भाग लिनै पर्छ।’

उनले थोत्रो विचार बोकेर युवा नहुने पनि स्पष्ट पारे। उनले आफ्नो सरकार गतिशील भएको दाबी गर्दै त्यसैले आफूलगायत यसमा सहभागी सबै युवा भएको बताए। उनले झापा आन्दोलन सुरु गर्दा आफ्नो उमेर १९ वर्ष भएको उल्लेख गर्दै त्यसैले सबै राम्रो कामको सुरुवात युवाअवस्थामै गर्नुपर्ने बताए। अनुचित कुरासँग सम्झौता नगर्नुहोस्,’ उनले भने। सामाजिक संजाल देसहितको पक्षमा चलाउन पनि उनले युवालाई आग्रह गरे।

उनले राजतन्त्र ब्युँताउने एउटा प्रयास कुनामा भैरहेको पनि दाबी गरे। ‘राजनीतिलाई देश र जनताको हितसँग जोडन नसकेर देशको हित गडबड भएपनि होस् भन्दै हिँडेका छन् राजतन्त्रका लागि,’ उनले भने, ‘केही बज्रस्वाठहरु छन् नेपालमा जसले केपी ओलीले राजतन्त्र हटाउन बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भनेका छन्।

उनले राजतन्त्र ब्युँत्याउन खोज्नेहरुलाई कटाक्ष गर्दै भने। ‘तिनीहरू म राजतन्त्र विरुद्ध लड्दा, म जेलमा बस्दा जन्मेका पनि थिएनन् ह‍ोला,’ उनले भने, ‘देशलाई अँध्यारोमा पुर्‍याएको त्यही राजतन्त्र चाहियो भन्छन्।’ देश संचार बाट साभार