भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका मुख्य योजनाकार पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार बागबजारबाट मेयर माथि आक्रमण गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुशल बोगटीलाई पक्राउ गरेको हो ।
मेयर श्रेष्ठ वैशाख ८ गते साँझ निवास छिर्न लाग्दा अज्ञात दुई व्यक्तिको रड प्रहारबाट घाइते भएका थिए । रड प्रहारबाट मेयर श्रेष्ठको दायाँ हात र खुट्टामा चोट लागेको छ भने गाडीमा समेत तोडफोड भएको थियो ।
घटना भएको ३ हप्तापछि प्रहरीले उनलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंहले मेयर आक्रमण घटनामा विप्लव समूहको संलग्नता देखिएपछि जिल्ला इन्चार्ज बोगटीलाई पक्राउ गरिएको बताए । बोगटीलाई अपराध महाशाखाको हिरासतमा राखिएको छ । उनको साथबाट प्रहरीले २ थान मोटरसाइकल तथा १३ थान सिमकार्डसहित केही मोबाइलसमेत बरामत गरेको छ ।










