काठमाडौं । पार्टीको एकता प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ ।
पार्टी एकताको अन्तिम टुंगो लगाउने जिम्मा पाएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच विभिन्न चरणमा छलफल भए पनि टुंगो भने लाग्न सकेको छैन। पछिल्लो पटक वैशाख २६ गते ओली,प्रचण्डबीच छलफल भएको थियो। तर छलफल एमाले अध्यक्ष ओलीको विवादित ट्विटका विषयमा केन्द्रित हुन पुग्यो। त्यसयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेटका कारण बैठक बस्न सकेको थिएन।
पार्टी एकताबारे ढिलाइ र अन्योल चिर्न आजको भेटवार्ता निर्णायक हुनसक्ने ठानिएको छ । आजै साँझ एमालेले स्थायी कमिटीको बैठक समेत बोलाएको छ ।










