संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारेण्टी भएमा फोरम नेपाल सरकारमा सहभागी हुने बताएका छन्।

विराटनगरमा सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दा सम्बोधन भएमा मात्र सरकारमा सहभागी हुने स्पष्ट पारे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संविधानलाई मधेशी, आदिवासी जनजाति सबैको सर्वस्वीकार्य र अपनत्व कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताउँदै उनले ‘पार्टी फुट्नुभन्दा जुट्नु’ राम्रो हुने भएकाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकतालाई आफूले सकारात्मक रूपमा लिने जानकारी दिए।

नीति र सिद्धान्तका आधारमा हुने पार्टी एकताले पार्टी दिगो एवम् लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गर्दै नेता यादवले प्रदेश नं २ का मुख्य मन्त्रीको अभिव्यक्तिलाई लिएर विवाद गर्नुको कुनै अर्थ नरहेको बताए।

फरक प्रसंगमा कुनै पनि संसद्लाई आरोप लाग्नासाथ निलम्बन गर्न नहुने बताउँदै उनले गम्भीर आरोप नलागेसम्म वा अदालतले अपराध प्रमाणित नगरेसम्म निलम्बन कानूनको दुरुपयोग हुने बताए।रासस