निमय उल्लंघन गर्नेलाई मिठाई र फूल दिएर सम्मान गरियो भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, झापाको बिर्तामोडमा बिहीबार बिहान ट्राफिक नियम उल्लंघन गर्नेलाई स–साना विद्यार्थी र ट्राफिक प्रहरीले फूलको थुँगा र मिठाई दिएर सांकेतिक रुपमा लज्जित बनाएका छन् ।

ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने, लाइसेन्स नबोक्ने, ब्लूबुक(पास बुक) नबोक्ने, हेलमेट नलगाउने, तीन जना सवारलाई बिर्तामोडस्थित एमिटी एजुकेशन फाउण्डेशनका कक्षा ६ र ७का विद्यार्थीका साथै ट्राफिक प्रहरीले संयुक्त रुपमा फूल र मिठाई दिएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्यार्थीले ट्राफिक नियमको पालना गर्दै सवारी चलाउन आग्रह गर्दा चालकहरु लज्जित देखिएका थिए । ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना र कारबाही गर्दा मात्र सवारी नियम उल्लंघन गर्नेको संख्या नघटेकोले कारबाही पनि नबिर्सिने खालको गर्दा सजग हुने भएको भन्दै एमिटी एजुकेशन फाउण्डेशनसँगको सहकार्यमा बिहीबारबाट तीन दिन यसरी नै सम्मान गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख राजेश राईले जानकारी दिए ।

पूर्वमा हर्न निषेध तथा चालकसँग एक मिनेट लगायतका सचेतनामूलक कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पूर्वमा नै पहिलोपटक ट्राफिक नियम उल्लंघन गर्नेलाई फूल र मिठाई प्रदान गर्ने कार्यक्रम शुरु गरेको ट्राफिक प्रहरी प्रमुख राईले बताए ।

झापा ट्राफिक प्रहरीले सचेतनासँगै कारबाही अभियान तीब्र बनाइरहेका बेला अर्को अभियान शुरु गरेसँगै यो अभियान प्रभावकारी हुने विश्वास ब्यक्त गरिएको छ । दिन प्रतिदिन पूर्वमा सवारी साधन थपिने क्रम जारी रहेको र सडकको अवस्था भने वर्षौदेखि सुधार नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी याम खड्काले जानकारी दिए ।

पूर्वको मचीदेखि पश्चिमको मावा खोलासम्मको ५५ किलोमिटर दुरी पूर्व–पश्चिम राजमार्गले भेट्ने भएकाले उक्त स्थानका दुर्घटनाको जोखिमयुक्त ठाउँको पहिचान गरेर उक्त स्थानमा सचेतना अपनाइएको ट्राफिक प्रहरीले जनाएको छ । राजमार्ग क्षेत्रमा ट्राफिक प्रहरीले सक्रियता बढाएसंगै ग्रामीण क्षेत्रमा ट्राफिक नियम उल्लंघन बढ्न थालेको भन्दै नियम उल्लंघन गर्नेलाई सम्मान गरेर कारवाही गरेपछि ऊ मनोवैज्ञानिक रुपमा नै सुध्रिने अपेक्षा गरिएको सूचना अधिकारी खड्काले बताए । यसैबीच झापामा केही महिना यता दुर्घटनामा कमी आएको र मृत्यु हुनेको संख्यामा पनि कमी आएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विद्यार्थीलाई समेत ट्राफिक नियमका विषयमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सीताराम ढकालले बताए । उनले भने– विद्यार्थीलाई ट्राफिक सचेतना सम्बन्धी हामीले कक्षा ४, ५बाटै पाठ्यक्रममा आधारित रहेर ज्ञान दिन्छौं, तर व्यवहारिक ज्ञान परिपक्व हुने भएकाले ट्राफिकसँगको सहकार्यमा सडकमा ट्राफिक नियम उल्लंघन गर्नेलाई फूल र मिठाई बाँड्न विद्यार्थीलाई लगाएका हौं ।

शुक्रवार र आइतवारसम्म सञ्चालन गरिने सचेतना कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागिता छ । उनले भने– किताबी ज्ञानले मात्र विद्यार्थीलाई कसरी बाटो काट्ने ज्ञान नहुनसक्छ । फिल्डमै ल्याएर सिकायो भने त्यो नै प्रभावकारी हुन्छ । सवारी चालक र पैदलयात्रीसँगै विद्यार्थी समेत सचेत रहने भएकाले यस खाले कार्यक्रम आयोजना गरिएको विद्यालयका शिक्षक अभिभावक संघका गौरीशंकर गुप्ता टिंकूले बताए । उनले भने– व्यवहारिक ज्ञान सिकाउन विद्यार्थीलाई सहज हुने भएपछि यस खाले कार्यक्रम आयोजना गरिएको हो । ट्राफिक नियम उल्लंघन गर्ने सर्वसाधारण र सवारी चालकलाई विद्यार्थीले मिठाई र फूल दिँदा उनीहरु नै जिलिए । गुप्ताले भने– आगामी दिनमा ट्राफिक नियम उल्ल्रघन गर्नु हुन्न रहेछ भनेर उनीहरु सचेत हुन्छन् ।

गल्ती गर्नेलाई कारवाही मात्र होइन सुधार्न पनि सकिन्छ गुप्ताले भने सकारात्मक संदेशका लागि यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघ सदस्य अञ्जु कोइराला, सहायक प्रिन्सिपल उत्तम पराजुली, शिक्षक सपन बस्नेत, प्रमोद खतिवडा, शर्मिला अधिकारी, वुद्धिराज अधिकारीको समेत उपस्थिति रहेको थियो । आमसन्चार बाट सभार