प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान काठमाडौँको सडकमा अलि फरक शैलीमा देखिए ।
कालो ट्रयाक सुट र टोपी लगाएका ओली दलबलसहित सडकमा दौडिँदै थिए । प्रधानमन्त्री दौडिएपछि उनको साथमा सुरक्षाकर्मीहरु पनि थापाथलीको सडकमा दौडिएका थिए ।
यो अवसर जुराइदिएको हो, कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको म्याराथनले । कान्तिपुर रनर हाफ म्याराथनको प्रतियोगिताको प्रमुख अतिथि रहेका प्रधानमन्त्री ओली केही समय दौडमा भाग लिएका हुन् । उनलाई साथ दिएका थिए, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहियाले । प्रधानमन्त्री दौडिएको देख्नेहरु आश्चर्यचकित मानेर हेरिरहेका थिए ।
आठौं संस्करणको कान्तिपुर हाफ म्याराथन प्रतियोगिता शनिबार बिहान ७ बजे कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालयबाट सुरु भएको थियो । प्रतियोगिताको उपाधि हरि रिमाल र कान्छिमाया कोजूले हात पारे ।










