नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्यमा जुटेका छन् । गत ३ जेठमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएका नेताद्वयले बढीमा एक साताभित्र केन्द्रीय समितिलाई पूर्णता दिने गरी गृहकार्य अघि बढाएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी रहने निर्णय गरिसकेको छ । सोही निर्णयअनुसार अब केन्द्रीय कमिटीलाई पूर्णता दिई माइन्युटमा सबै सदस्यको हस्ताक्षरसहित नागरिकतासमेत बुझाउनुपर्नेछ ।
सोही कामका लागि दुवै अध्यक्षले शनिबारबाट गृहकार्य अघि बढाएका हुन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले विघटित एमालेको तर्फबाट केन्द्रीय कमिटीमा सहभागी गराउने ४१ जनाको टुंगो लगाउने गृहकार्यसहित परामर्श अघि बढाएका छन् । उनले ४१ जना केन्द्रीय सदस्य छान्नका लागि मापदण्ड बनाएर वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरिरहेका छन् ।
एकतासँगै वरीयतामा दुई अध्यक्षपछि रहेका वरिष्ठ नेता नेपालले पनि मापदण्ड बनाएर छनोट गर्दा विवाद नहुने सुझाब दिएका छन् । स्रोतका अनुसार मापदण्डको पहिलो नम्बरमा केन्द्रीय सदस्य बनाउँदा गत नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेर पराजित भएका नेताहरू पहिलो प्राथमिकतामा परेका छन् । दोस्रोमा पार्टी जिल्ला र जनसंगठनको नेतृत्व गरेका व्यक्तिहरू परेका छन् । यस्तै, स्थानीय तह, प्रदेश र संघीय संसद्मा व्यवस्थापनका लागि उम्मेदवार बनाउन नसकेका पुराना, अनुभवी र योग्य नेतालाई समावेश गर्ने मापदण्ड पनि बनेको छ ।
यिनै तीन मापदण्डभित्र पर्ने व्यक्तिहरूलाई केन्द्रीय कमिटीमा सहभागी गराउने योजनामा अध्यक्ष ओली रहेका छन् । पार्टी एकतासँगै संगठनभन्दा गुटबन्दी मात्रै गर्ने, जहिले पनि संगठनले उठाएको उम्मेदवारलाई हराउने भूमिका खेल्ने र जिल्ला तथा जनसंगठनको नेतृत्वमा कामै नगरेका कामचोरहरू नेताको फेर समातेर केन्द्रीय कमिटीमा छिर्न घरदैलो अभियान थालेपछि अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र महासचिव विष्णु पौडेललाई राखेर मापदण्ड तय गरेका बालुवाटार स्रोतले बतायो ।
‘विवादरहित ढंगबाट केन्द्रीय सदस्य छनोटका लागि अध्यक्ष ओलीले परामर्श गरिरहनुभएको छ, उहाँलाई वरिष्ठ नेता माधव नेपालले सहयोग गर्ने कुरा भएको छ,’ नेकपाका एक सचिवालय सदस्यले भने । स्रोतका अनुसार तत्कालीन एमालेको नवौँ महाधिवेशनमा पराजित भएका केन्द्रीय सदस्यका उम्मेदवारलाई बढी प्राथमिकता दिइने योजना अध्यक्षको छ ।
नवौँ महाधिवेशनमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा, पूर्वमन्त्रीहरू खगराज अधिकारी, महेश बस्नेत, आनन्दप्रसाद पोखरेल, पुरुषोत्तम पौडेलसहित देवी ज्ञवाली, राजेन्द्र गौतम, रामेश्वर फुयाल, विनोद श्रेष्ठ, गोविन्द कोइराला, अच्युत मैनाली, कैलाश ढुंगेल पराजित भएका थिए ।
यस्तै, गणेश काङमाङ, भवानी खापुङ, तिलकुमार मेयाङ्बो, पिके राई, उषाकला राई, तुल्सी न्यौपाने, केशव देवकोटा, आङङिमा शेर्पा, वसन्त मानन्धर, मधुसूदन पौडेल, राजेन्द्रमान श्रेष्ठ, शरेश नेपाल, राजेन्द्र लोहनी, गुरु बुर्लाकोटी, नमिन्द्रमान घले, सूर्यनाथ बराल, मोती पौडेल, इन्द्रलाल सापकोटा, विष्णु पन्थी, कल्पना चापागाईं, कमला सुवेदी पराजित भएका थिए ।
नवौँ महाधिवेशनमा चित्र थापा, शंकरमान श्रेष्ठ, पीताम्बर सारु, कृष्ण पौडेल, लक्ष्मण आचार्य, गोविन्द कोइराला, दलबहादुर सुनार, देवराज भार, कौशिला सिंह, लक्ष्मण ज्ञवाली, चन्द्रबहादुर शाही, निरज आचार्य, अम्बरबहादुर थापा र विनोद शाह पराजित भएका नेता हुन् ।
महाधिवेशनमा उर्वादत्त पन्त कृष्णप्रसाद जैशी, भानुभक्त जैशी, हर्कबहादुर सिंह, विमला घिमिरे, गौरी ओली, पवित्रा निरौला, माया भट्ट, सावित्री रेग्मीलगायत नेता–नेतृहरू केन्द्रीय सदस्यमा पराजित भएका हुन् । केन्द्रीय कमिटीमा तिनैमध्ये जिल्ला नेतृत्वमा नरहेका नेतालाई समावेश गर्ने योजनामा नेताद्वय रहेका स्रोतले बतायो ।
यस्तै, नवौँ महाधिवेशनमा टिम मिलाउन उम्मेदवार हुनबाटै रोकिएका जिल्लाका पूर्वअध्यक्षहरूलाई समेत सामेल गरिनेछ । जिल्लाको नेतृत्व गरेका चितवनका जगन्नाथ थपलिया, मोरङका विनोद ढकाल अग्रसूचीमा रहेका छन् । यस्तै, जनसंगठनको नेतृत्व गरेका व्यक्ति पनि सूचीभित्र अटाएकाले काममा योग्यलाई छनोट गर्ने कार्यसूची रहेको स्रोतले बतायो । अर्थमन्त्री डा. युवराज खतिवडाको नाममा समेत छलफल भइरहेको छ ।
एमालेभित्रको आर्थिक नीति बनाउने काममा लामो समयदेखि लागेका खतिवडालाई ल्याउने विषयमा सबैजसो नेताहरू सहमत छन् । मापदण्डभित्र पर्नेमा पनि एक दर्जन युवा नेताबोहक अन्यको हकमा अवसर नपाएका र कुनै पनि जिम्मेवारीमा नरहेकालाई प्राथमिकता दिइने स्रोतको भनाइ छ । यस्तै, चार जना स्थायी समिति सदस्य चयनका लागि पनि गृहकार्य भइरहेको छ ।
कुल ४५ सदस्यीय स्थायी कमिटी सदस्यमा एमालेतर्फबाट पर्ने ४ जना नेताको नाम चयन हुन बाँकी छ । स्थायी कमिटीका लागि पोलिटब्युरो सदस्य तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको लगभग टुंगो लागिसकेको छ भने नवौँ महाधिवेशनमा पदाधिकारीका उम्मेदवार बनेका नेताहरू प्रदीप नेपाल, बेदुराम भुसाल, रघुवीर महासेठलगायत आधा दर्जन नेताको नाममा छलफल भइरहेको स्रोतको भनाइ छ ।
एकताअघि एमालेका आयोग अध्यक्षहरू स्थायी कमिटीको पदेन सदस्य रहने निर्णय यसअघि नै अध्यक्ष ओली र दाहालले सुनाइसकेका छन् । यता माओवादीतर्फबाट पूर्वकेन्द्रीय सदस्यहरू मध्येबाटै चयन हुने भएका छन् । माओवादीतर्फ ८६ जनाको नाम टुंगो लागिसकेको छ भने बाँकी १ सय १४ जनाको नाम टुंग्याउन शनिबार दिउँसोदेखि अध्यक्ष दाहालले गृहकार्य गरिरहेका छन् ।
‘अध्यक्षले योग्यतम व्यक्तिलाई ल्याउने गरी मापदण्ड बनाएर कामको आधारमा गृहकार्य गरिरहनुभएको छ, त्यसमध्ये पनि पार्टी एकताको स्पिरिट बुझ्नेलाई स्थान दिने उहाँको योजना छ,’ दाहाल सचिवालयका एक सदस्यले भने । सौर्य दैनिक बाट










