संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागि हुने भएको छ ।
एकीकृत प्रस्तावित पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी’बाट पुनः फोरम नेपालसँग सरकारमा सहभागिताका लागि अनौपचारिक छलफल सुरु भएको छ । शनिवार नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट फोरमलाई सरकारमा सहभागी हुन पुनः प्रस्ताव गरिएको छ ।
उक्त प्रस्तावसहितको विषयमा छलफल गर्न शनिवारबाट फोरम नेपालको कार्यसम्पादन समितिको बैठक चलिरहेको छ ।
शनिवार नै नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि तयारी भइरहेको जानकारी गराएका थिए । उनले संविधान संशोधनको गर्ने नहुने भन्ने नरहेको बताउँदै औचित्य पुष्टि गरेर संविधान संशोधन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले संविधान संशोधनका विषयलाई उठाएर मधेसी दल पनि सरकारमा सहभागी हुन लागेको संकेत गरेका थिए ।
यता फोरम नेपालको कार्यसम्पादन समितिको बैठकमा सरकारमा सहभागिताका विषयमा अन्तिम निर्णय लिने फोरम नेपालका एक नेताले बताए ।
फोरमले आज साँझसम्म केही औपचारिक निर्णय गर्न सक्ने बताइएको छ । वार्ता समिति गठन गरेर छलफल अगाडि बढाउने र दुई दिन पछि फोरम अध्यक्ष उपेन्द्र यादव धनगढीबाट फर्केपछि अन्य छलफल अगाडि बढ्ने स्रोतले जनायो । काठमाडौं टुडे बाट सभार










