महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधनको सीट संख्याभन्दा बढी यात्रु राखेर हिँड्ने १८९ सवारी साधनलाई कारबाही गरेको छ ।
गृह मन्त्रालयले बुधबार क्षमताभन्दा बढी सवारी साधन बोक्ने साना माइक्रोबस र टेम्पोलाई कारबाही गर्न निर्देशन दिएसँगै महाशाखाले माइक्रोबस र टेम्पोलाई कारबाही गरेको हो ।
महाशाखाका सहप्रवक्ता मुकुन्द मरासीनीले सफा टेम्पो र १८ सीटभन्दा कम क्षमता भएका माइक्रोबसलाई कारबाही गरिएको जानकारी दिए ।
गृहमन्त्री रामबहादुर थापाले बुधबार सरोकारवालासँगको बैठकमा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका थिए ।
उपत्यकामा शुक्रबारदेखि नै तीनपाङ्ग्रे टेम्पुमा सीट संख्या भन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको छ । बढी यात्रु बोक्ने टेम्पो शुक्रबार र शनिबार ५८ वटालाई कारबाही गरिसकिएको महाशाखाले जनाएको छ ।
यसैगरी महाशाखाले मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटरमा प्रिन्टर जडान नगरेका ११९ ट्याक्सीलाई कारबाहीसमेत गरेको छ ।










