म अध्यक्ष हुनुपर्छ भनेर लागेको छैन। प्रधानमन्त्री हुनुपर्छ भनेरपनि लागिन। तर म प्रधानमन्त्रीको उम्मेदवार चाहिँ हो, आजपनि हो। चुनाव जितेर गएँ भने हो। चुनाव हारिसकेपछि त उम्मेदवार पनि भइएन।

नेकपा नेता, बामदेव गौतम

पार्टी एकता

एकताको घोषणा हुँदा केपी शर्मा ओलीले भन्नुभयो, ‘म र प्रचण्ड बाम विमानका पाइलट हौं।’ तपाईंहरु चाहिँ बाम विमानका ‘क्रु मेम्बर’ (चालक दलका सदस्य) होला। होइन?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठूलो प्लेनमा धेरै पाइलट, कोपाइलट हुन्छन्। त्यसैले, उहाँहरु दुईटा पाइलट, हामी ७ जना को–पाइलट।

दुई जनामध्ये कुन पाइलट अलिक ‘स्मार्ट’ छन्?

त्यस्तो भन्न मिल्दैन। दुईटा पार्टी एकिकृत भएका छन्। दुईटा पार्टीका अध्यक्षलाई पाइलटका रुपमा अघि सारेको भनेर ओलीले भन्नुभएको हो।

दुईटा पाइलटबीच विवाद भयो भने जहाज दुर्घटनामा पर्दैन?

त्यस्तो हुँदैन। दुईटा पाइलटमध्ये पनि एउटा ‘मास्टर पाइलट’ हुन्छ। अर्काे पाइलट हुन्छ। ‘मास्टर पाइलट’ ले नै बाँकी सबै पाइलटलाई नियन्त्रण गर्छ।

‘मास्टर पाइलट’ केपी ओली नै हो। किनभने, पार्टीले मर्यादाक्रमपनि तोकेको छ- १. केपी ओली, २. प्रचण्ड, ३. माधव नेपाल, ४. झलनाथ खनाल, ५. बामदेब गौतम, ६. नारायणकाजी श्रेष्ठ, ७. ईश्वर पोखरेल, ८. रामबहादुर थापा ‘बादल’ र ९. बिष्णु पौडेल।

यसरी तोकिसकेपछि त ‘कन्फयुजन’ नै भएन नि- को को के के भन्ने।

यस्तो पाराले बरियता नं ५ बाट उक्लेर १ नम्बर बरियतामा कहिले पुग्नुहुन्छ ख्वै!

एकसे एक महारथीहरु हामीसँग छन्। मलाई १ नम्बर नदिने सम्भावनापनि हुन्छ। तर, पार्टीको अध्यक्ष हुन नपाएकोमा, सरकारको प्रमुख हुन नपाएकोमा ममा कुनै असन्तुष्टि-गुनासो, खिन्नता केही छैन। पार्टी अध्यक्ष हुन पाइन भनेपनि मलाई केही फरक पर्दैन।

म पार्टी अध्यक्ष हुन पाएँ भने चाहिँ साँच्चिकै कम्युनिष्ट पार्टी बताउँछु। सरकार प्रमुख हुन पाएँ भने आजसम्म कसैले फत्ते नगरेको काम गरेर देखाउँछु। त्यो नहुनपनि सक्छ। तर मलाई गर्न सक्छु जस्तो लाग्छ।

त्यस्तो अवसर आउला र अब?

म अध्यक्ष हुनुपर्छ भनेर लागेको छैन। प्रधानमन्त्री हुनुपर्छ भनेरपनि लागिन। तर म प्रधानमन्त्रीको उम्मेदवार चाहिँ हो, आजपनि हो। चुनाव जितेर गएँ भने हो। चुनाव हारिसकेपछि त उम्मेदवार पनि भइएन।

राजनीतिक हिसावले नेपालका सबै राजनीतिक पार्टीका नेताहरुलाई एकै ठाउँमा राखियो भनेपनि बरिष्ठतामा म पनि पर्छु। त्यसैले, अबसर आउँदा ‘बामदेबजस्तो व्यक्तिलाई यो अबसर दिनुपर्छ’ भन्ने मानिसलाई लाग्छ।