सुर्खेत, ८ जेठ – गृहमन्त्री रामबहादुर थापा‘बादल’ ले सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे पक्राउ पर्नु अनुसन्धानका लागि ठूलो उपलब्धि भएको बताएका छन् ।

कर्णाली प्रदेशको सुरक्षा गोष्ठी उद्घाटन गर्न मंगलवार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले पत्रकारहरूसँग कुरा गर्दै सुन तस्करको जालो तोडिने बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘सुन प्रकरणका आरोपी, सुन तस्कर गोरेलाई पक्राउ गर्न सफल भएका छौं’ गृहमन्त्री थापाले भने, ‘विस्तारै हामीले ती अन्य तस्करका बारेमा पनि जानकारी पाउनेछौं र उनीहरुलाई पनि कारवाहीको दायरामा ल्याउनेछौं ।’

लागूऔषध पूर्ण नियन्त्रण

मन्त्री थापाले लागूऔषधलाई कडाइका साथ निषेध गरिने बताए । विकास निर्माणको बाधकको रूपमा लागू औषध आएको उनको भनाइ छ ।

‘शान्ति सुरक्षा, विकास निर्माण, अपराध, घरेलु हिंसाको कारक लागू औषध बनेको छ,’ गृहमन्त्री थापाले भने, ‘लागू औषध प्रयोगकर्ता र बिक्रीकर्तालाई कडा कारवाही गर्ने र उक्त सञ्जाललाई नामेट पार्दै शान्ति सुरक्षालाई सुदृढ पारी छोडछौं ।’ उनले जस्तो सुकै हालतमा पनि लागूऔषध निषेध गर्ने र मदिरालाई नियन्त्रण गर्ने बताए ।

‘मदिरा पूर्ण रूपमा प्रतिबन्ध गर्ने होइन,’ उनले भने, ‘जनतामा चेतना फैलाउने र मदिरा सेवनको उपयुक्त समय मिलाउने योजना मन्त्रालयको छ ।’

अतिवादी क्षेत्रबाट सुरक्षा चुनौती

गृहमन्त्री थापाले नेपालमा राजनीतिक अतिवादीबाट सुरक्षा चुनौति रहेको बताए । ‘विप्लव समूह, तराईमा रहेका भूमिगत केही समूह र सीके राउतबाट सुरक्षा चुनौति छ,’ उनले भने, ‘साथै विभिन्न धार्मिक, जातीय समूह तथा बाह्य चुनौतिहरू पनि छन्,’ गृहमन्त्री थापाले थपे, ‘तर सरकार ती सबै चुनौतीको सामना गर्दै देशलाई विकासको बाटोमा, समृद्धिको बाटोमा लिन सक्षम छ ।’

ठग ठेकेदारलाई नछाड्ने

गृहमन्त्री थापाले ठेकेदारहरूलाई नियमन गर्ने निकाय भौतिक योजना तथा निर्माण मन्त्रालय भए पनि मजदूरहरुको पैसा खाएर भागेका, समयमै काम नसक्ने र गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने चेतावनी दिए ।

उनले निर्माण व्यवसायीले त्यसो गर्नु अपराध भएको र त्यो अपराधलाई कानूनी दायरामा ल्याउने काम गृहमन्त्रालयको भएको बताउँदै त्यस्तालाई कुनै पनि हालतमा उन्मुक्ति नदिने जनाए । तर इमान्दार भएर काम गर्ने व्यवसायीलाई सरकारले साथ दिने उनको भनाइ छ ।

सबै सिन्डिकेट हटाइने गृहमन्त्री थापाले सरकारले सबैखाले सिन्डिकेट हटाउने बताए । ‘सिन्डिकेटका कारण पनि देश पछि परेको हो,’ उनले भने, ‘त्यसलाई तोड्नु सरकारको मुख्य काम हो ।’ लोकान्तर बाट साभार