दमक/झापाको दमक नगरपालिकाको काम कारवाहीप्रति नेपाली काँग्रेस दमक नगर समिति सहितका राजनीतिक दलहरुले असन्तुष्टि पोखेकाछन् । उनिहरुले संयुक्त ज्ञापनपत्र बुझाउदै असन्तुष्टि पोखेकाहुन् ।
उनिहरुले सुझाव सहित कतिपय बिषयबस्तुहरुमा गम्भिर आपत्ती समेत जनाएकाछन् । नेकपाको एकलौटी भएको भन्दै उनिहरुको बिरोध रहेको छ । यस्तो छ उनिहरुले नगरपालिकामा बुझाएको ज्ञापनपत्र
संयुक्त ध्यानाकर्षण पत्र
श्री नगर प्रमुखज्यू, दमक नगरपालिका । मिति २०७५।०२।०८ प्रदेश नम्बर १ झापा जिल्ला अन्तर्गत यस दमक नगरपालिकाले स्थनीय सरकारको रूपमा आम नगरवासी जनसमुदायको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताहरुलाई पूरा गर्नुपर्ने अहम दायित्व र जिम्मेवारी छ र हो । यसर्थ, नगरपालिका क्षेत्रमा बसोबास गर्ने नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने लगायत भइपरि आउने सबै किसिमका समस्याहरुको हरसम्भव निराकरणका लागि दमक नगरपालिका जिम्मेवार र जवाफदेही बन्नुपर्दछ । नागरिकले कर तिरेर पालेका कर्मचारी र जनप्रतिनिधिहरुको भूमिका जनतामारा कार्यतर्फ उन्मुख हुनु भनेको सरासर गलत र अन्याय हो । यस्तो अन्यायपूर्ण समाजले हामीलाई जोड्न सक्दैन । विभाजनतिर लैजान्छ । तर, दमक नगरपालिका कार्यालयबाट पछिल्ला दिनमा सम्पादन भइरहेका जनजीविकासँग सम्बन्धित कार्यहरु गैरजिम्मेवारपूर्ण, दुरासायपूर्ण र प्रतिशोध साँध्ने किसिमले भइरहेको हामीले महसुस गरेका छौं । यो निन्दनीय कार्य हो । यी आरोपलाई पुष्टि गर्ने एउटै प्रतिनिधि घटना मिति २०७५ जेठ ५ गते दमक नपा वडा नम्बर ७ हाटखोलास्थित सुनचाँदी लाइनमा भएको छ । उक्त दिनको घटनाले दमक नगरपालिका र स्थानीय सरकारको बागडोर सम्हालिरहेको हाल नेकपा (साविक नेकपा एमाले)को सत्ता र सो सत्ताको रवैयामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ । २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई आवासको हक हुनेछ भनेर मौलिक हक अन्तर्गत धारा ३७ मा उल्लेख गरेको छ । दमक नगरपालिका कार्यालयले आफ्नो अकर्मण्यतालाई ढाकछोप गर्न र विकल्पविहीन दमक ७ हाटखोला सुनलाइनमा बसोबास गरिरहेका जनसमुदायलाई पटक–पटक हातहतियारसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको जत्था लिएर गई घेरा हान्ने, स्काभेटर प्रयोग गरेर घर टहरा भत्काउने लगायतका जनतालाई आतंकित पार्ने गतिविधि गरिरहेकोप्रति हामी निन्दा र भत्र्सना गर्दछौं । शनिबारको सो घटना र मिति २०७५ जेठ ८ गते पनि केही पत्रपत्रिकाहरुमा दमक नगरपालिकाबाट प्रकाशित विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नगरपालिका कार्यालयले सुरक्षाकर्मी परिचालन गरेर बलजफ्ती जनतालाई घरबारविहीन पार्नलाई गरेको दुष्प्रयास असफल भएपछि आफ्नो गलत कार्यको दोष हामी राजनीतिक दलहरुलाई थोपर्न दमक नगरपालिका उद्धत देखिएको छ । यस्तो निन्दनीय कार्य हाम्रा लागि सह्य हुन सकदैन । जसरी विज्ञप्तिमा राजनीतिक दलहरुले बस्ती उठाउने प्रतिवद्धता व्यक्त गरेको भनिएको छ, सत्यतथ्य र वास्तविकता त्यस्तो होइन । सो क्षेत्रमा बसोबास गर्ने, व्यापार व्यवसाय गरी आश्रित जनसमुदायलाई उचित विकल्प दिएर, उनीहरुको न्यूनतम गाँसबास र कपासको, रोजीरोटीको ग्यारेन्टी गरेर, उनीहरुलाई दिइएको विकल्पमा चित्त बुझाई स्थान्तरण गर्न सकिने सन्दर्भमा राजनीतिक दलहरुले सहमति दिएको सत्य कदापि लुक्न सक्दैन । यसर्थ, दमक नगरपालिकाले यो सत्यलाई हेक्का राखोस् । विकास र समृद्धिको हवाला दिएर नेपाली राजनीतिमा वाम गठबन्धनले बाजी मारेको यथार्थलाई हामीले नजर अन्दाज गर्दैनौं । त्यसमाथि हाल वाम गठबन्धनमा रहेका दुवै घटक एकै राजनीतिक दलमा परिणत भएको अवस्था हो । ठूला कम्युनिष्ट पार्टीहरुको एकताले उत्पीडित, निमुखा, गरिब, विपन्न र सहाराबिहीन जनतालाई आशाको सञ्चार गरेको होला भन्ने अपेक्षा हामीलाई थियो । तर, कम्युनिष्ट आवरणमा स्थानीय सरकार जनताको आवास भत्काउन तल्लिन देखिनु निक्कै खतरनाक राजनीतिक चक्रब्युह् बुनिदै गएको हो कि ! जनताको सरोकारलाई नजरअन्दाज गरेर सर्वसत्तावादी सोचले संक्रमित भएको हो कि ! हामी स्पष्ट हुन सकेनौं । हामी विभिन्न राजनीतिक दलहरुका तर्फबाट यो ध्यानाकर्षण–पत्रमार्फत निम्न धारणासहित दमक नगरपालिका कार्यालयको ध्यानाकर्षण गराउँदछौं ः १. दमक ७ हाटखोला सुनलाइनका जनतालाई उनीहरुको अवस्था हेरी उचित व्यवस्थापनसहितको विकल्प दिएर सो विकल्पमा चित्त बुझाएर मात्रै थप आवश्यक काम कारबाही अघि बढाउन अनुरोध गर्दछौं । २. नगरपालिका कार्यालयले एकलौटी ढंगले निर्माण गरेका कानुनहरु (भूमिसुधार, शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी लगायत) जनतालाई मान्य नहुने किसिमका विभिन्न नियम कानुनहरु तत्काल खारेज गरेर सबैका लागि मान्य हुने नियम कानुन निर्माण गर्न माग गर्दछौं । ३. स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि सबै वडाहरुमा वडा कार्यालयहरु विस्तार नगरिएको र जनतालाई सहज सेवा उपलव्ध गराउन नसक्नु निन्दनीय छ । तत्काल वडा कार्यालयहरु विस्तार गर्न माग गर्दछौं । ४. वर्षायाम नजिकिँदै छ । दमक नगरक्षेत्र आफैमा बाढी प्रकोपको समस्याबाट ग्रस्त क्षेत्र हो । बाढीबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि तत्काल गृहकार्य थाल्न माग गर्दछौं । ५. दमक नगरपालिका क्षेत्रभित्रका हरेक जनसरोकारवाला कार्यहरु (विकास निर्माण, योजना कार्यान्वयन, सार्वजनिक वहस र निर्णय, अनुगमन र कार्य मूल्याङ्कन)मा हामी प्रतिपक्षमा रहेका दलहरुलाई प्रतिनिधिमूलक ढङ्गले अनिवार्य सहभागी गराइयोस् । हाम्रा मागहरु यथासक्य चाँडो सम्बोधन होस् भन्ने अपेक्षा राख्दछौं । अन्यथा, हामी कडाईका साथ राजनीतिक गतिविधि र आन्दोलनमा उत्रने जनकारी गराउँदछौं । ६. हाल दमक नगरपालिका क्षेत्रमा स्वास्थ्य स्वयम्सेविका नियुक्त गर्ने कार्यमा आमूक दल विशेषको भर्ती केन्द्र जस्तो बनाइएको जनगुनासो आएको छ । सो कार्य तत्काल रोक्न आग्रह गर्दछौं । त्यस्तै रेडियो वितरण, साइकल वितरण कार्यक्रम अपारदर्शी भएको छ । सो कार्य समेत तत्काल रोकेर सबै सरोकारवालाहरु समेतको सहभागितामा निष्पक्ष ढंगले मात्रै कार्य अघि बढाइयोस् ।
१. रोशन विष्ट सभापति, नेपाली काँग्रेस –दमक नगर समिति । २. बासुदेव राई अध्यक्ष, सङ्घीय समाजवादी फोरम, नेपाल – दमक नगर समिति । ३. यामबहादुर लिम्बू अध्यक्ष, संघीय लिम्बुवान मञ्च – दमक नगर समिति । ४. भेषराज भट्टराई अध्यक्ष, नयाँ शक्ति पार्टी, नेपाल – दमक नगर समिति । ५. अविन लिम्बू सचिव, राष्ट्रिय जनमुक्ति पार्टी – दमक नगर समिति ।










