संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच बुधवार बिहान भेटवार्ता भएको छ । मुख्यमन्त्री निवासमा गृहमन्त्री बादल र मुख्यमन्त्री भट्टबीच भएको भेटवार्तामा द्विपक्षीय हितका बारेमा छलफल भएको हो ।

छलफलका क्रममा प्रदेश सरकारको सुरक्षाअवस्था, सीमा सुरक्षा, दार्चुलाको तिंकरस्थित त्रिदेशिय नाकामा १२ महिनै सुरक्षापोष्ट राख्नुपर्ने तथा केन्द्र सरकार र प्रदेश सरकारबीचको आवश्यक समन्वयका बारेमा छलफल भएको छ । तिंकर नाकामा ६ महिना मात्र सुरक्षापोष्ट राख्ने गरिएको छ । भारतसँग जोडिएका प्रदेश ७ का सबै सीमा क्षेत्रका भूगोलहरूमा सुरक्षा चेक पोष्ट राख्ने विषयमा समेत छलफल भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छलफलका क्रममा गृहमन्त्री बादलले प्रदेशको सुरक्षा अवस्था सम्वन्धमा चासो राख्नुका साथै सीमा क्षेत्र र तिंकर नाकामा सुरक्षापोष्ट राख्ने विषयमा सकारात्मक प्रतिक्रिया दिएको मुख्य मन्त्रीको नीजि सचिवालयले जनाएको छ । प्रदेश ७ को अस्थायी मुकाम धनगढीमा प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री बादल मंगलबार साझ धनगढी आएका हुन् ।

बुधबार बिहान ९ बजेदेखि धनगढीस्थित शुभश्री प्यालेसमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी संचालन भइरहेको छ । सुरक्षा गोष्ठीमा प्रदेश ७ का आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाह, प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । प्रदेश ७ को सुरक्षा अवस्था थप मजबूत पार्ने उद्देश्यले प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले बताए ।

प्रेस संयोजक भट्टराईका अनुसार गृहमन्त्री बादलको योजनाअनुसार सातवटै प्रदेशमा प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आयोजना गर्न लागिएको हो । गोष्ठीमा गृहमन्त्री बादलले समग्र प्रदेशको सुरक्षा अवस्थाको जानकारी लिई प्रदेशको सुरक्षा अवस्था थप मजबूत पार्न सुरक्षा निकायलाई दिर्नेशन दिइने बताइको छ । काठमाण्डु टुडे बाट