सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान दिने क्रममा उनले सो माग गरेका हुन्।
सुनको अवैध कारोबार, शनम शाक्यको अपहरण तथा हत्या र संगठित अपराधका मुख्य अभियुक्त रहेका ‘गोरे’ले उनी विरुद्धको अभियोगमा अदालतले बुधबार सुरु गरेको बयानका क्रममा आफ्नो जीउज्यान असुरक्षित रहेको भन्दै मानव अधिकारको निगरानी माग गरी अदालतमा निवेदन दिइएका हुन्।
उनको निवेदनमाथि सुनुवाई गर्दै न्यायधीश नारायणप्रसाद शर्माको इजलासले जिल्ला प्रहरी कार्यालय मोरङको नाममा ‘आवश्यक सुरक्षा व्यवस्थापन मिलाउनु’ भन्ने आदेश समेत दिइसकेको निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिएका छन्।
सुन प्रकरणसँगै जोडिएका सानु बनको आत्महत्या, प्रहरी हिरासतमा रहेका प्रेमलाल चौधरीको आत्महत्याले आफूलाई त्रसित बनाएको भन्दै गोरेले हिरासतमै आफू असुरक्षित रहेको भनि निवेदन दिएका हुन्।
मुख्य अभियुक्त गोरेसहित ६३ प्रतिवादी विरुद्ध जिल्ला अदालत मोरङमा दायर गरिएको अभियोगमा पक्राउ परेका ३० जनामध्ये २८ प्रतिवादीलाई थुनामा राख्ने आदेश भईसकेको छ। गोरे विरुद्ध थुनछेक बहसका लागि जिल्ला अदालत मोरङले बयान लिन थालेको छ। प्रतिवादी गोरेको पक्षमा बहस गर्न वकालतनामा भराएका कानुन व्यवसायी यामबहादुर मगरका अनुसार पहिलो दिन अदालतमा उनले आफ्नो पृष्ठभूमिसहितको बयान दिएका छन्। सुन हराएपछि आफूले सहनु परेको दवाब, त्यसपछि सुन खोज्न पाएको जिम्मा लगायतका विषयलाई गोरेले बयानमा बताएका छन्।
सुन हराएपछि काठमाडौंदेखि सिन्धुलीसम्म उनले अपनाएको विभिन्न गतिविधि र क्रियाकलाप बारेको बयान पाँच पृष्ठको भएको छ। अदालतमा प्रतिवादी भएका ६३ प्रतिवादीलाई नै आफूले चिन्ने बताएका गोरेलाई सुरुमा अभियोग पढेर सुनाइएको कानुन व्यवसायी मगरले जानकारी दिए।
मंगलबार अदालतमा पेश गरिंदादेखि बुधबार बयानका लागि लैजांदा समेत प्रहरीको विशेष सुरक्षा घेरामा उनलाई पुर्याउने र ल्याउने गरिएको छ।
यता अदालतले मोरङ कारागारमा राख्ने आदेश जारी गरेपछि कारागार पुर्याइएका २८ अभियुक्तलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमै राखिएको थियो। मोरङ कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएका कारण व्यवस्थापन गर्न नसक्ने भएपछि उनीहरुलाई जिल्ला प्रहरीकै हिरासतमा राखिएको हो।
मोरङ जिल्ला कारागारमा राख्न नसकिने भएपछि २८ जना अभियुक्तलाई बुधबार सुनसरीस्थित झुम्का कारागार पठाइएको छ। सबै अभियुक्तलाई अलग–अलग कोठामा राख्नुपर्ने भएकाले झुम्का कारागारमा पठाउने तयारी गरिएको मोरङ प्रहरीले जनाएको छ। नेपाल खबर ड्ट कम बाट सभार










