मोरङ ।
प्रदेश १ को मन्त्रीपरिषद बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनका लागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ ।
बैठकले विराटनगर महानगरपालिकाका पूर्व मेयर रमेशचन्द्र पौडेल, सुयशराज प्याकुरेल, डा. उत्तरकुमार रेग्मी र सोमनाथ अधिकारी सम्मिलित विज्ञ समूह गठन गर्ने निर्णय गरेको हो ।
विज्ञ समूहमा रहेका डा. रेग्मी विराटनगर महानगरपालिकाका पूर्व योजना प्रमुख हुन् भने प्याकुरेल युवा उद्योगी हुन् । त्यसैगरी सोमनाथ अधिकारी व्यवसायिक क्षेत्रका विज्ञ तथा कानुनसम्बन्धी जानकार व्यक्तिको रुपमा चिनिएका ब्यक्ति हुन् । विज्ञ समितिले सरकारको कामकारवाहीमा महत्वपूर्ण सुझाव दिनुकासाथै निर्णय कार्यान्वयनको प्रभावकारिताको विषयमा सरकारलाई प्रतिक्रिया प्रदान गर्ने उज्यालो अनलाइनले उल्लेख गरेको छ ।
मन्त्रिपरिषद् बैठकले आगामी जेठ १७ गते दिउँसो ३ बजे प्रदेशसभाको अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । संसद अधिवेशन नचलेका कारण कतिपय विषयमा अध्यादेश ल्याएर अघि बढ्नु पर्ने परिस्थिति आएको छ ।
बैठकले योजना छनोट तथा कार्यान्वयन निर्देशिका २०७५ पारित गरेको छ भने निकट भविष्यमा हुनसक्ने बाढी पहिरोको प्रकोप नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न बजेटको प्रबन्ध गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए। आमसन्चार बाट सभार










