तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा नेताहरुको व्यवस्थापन पेचिलो बन्दै गएको छ । केन्द्रीय सदस्यको नामावली सार्वजनिक भएसँगै असन्तुष्टिहरु सार्वजनिक भएका छन् । स्थायी समितिमा पनि असन्तुष्टि आउने भन्दै चयनमा सकस परेको छ ।

४४१ केन्द्रीय सदस्यहरुको बल्ल टुङ्गो लगाएको नेकपाले ४५ सदस्यीय स्थायी समितिको अझै टुङ्गो लगाउन सकेको छैन् । यद्यपी, पूर्व एमालेको भाग परेका २६ सदस्यको भने टुङ्गो लागिसेको छ । पूर्व माओवादीको भागमा परेका १९ मध्ये १३ जनाको नाम लगभग टुंगिएको छ । तर, बाँकी ६ सदस्यका कारण नेकपामा स्थायी समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तकालीन एमालेबाट नेकपाका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल स्वतः परेका छन् ।

यसैगरी, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई नेकपाको स्थायी समितिमा परेका छन् । सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, छविलाल विश्वकर्मा, किरण गुरुङ र सत्यनारायण मण्डल स्वतः स्थायी समिति सदस्य भएका छन् ।

यसैगरी, रघुजी पन्त, विष्णु रिमाल, वेदुराम भुसाल र रघुवीर महासेठ पनि पूर्व एमालेबाट नेकपाको स्थायी समितिमा अटाएका छन् । यसअघि स्थायी समितिमा पदेन सदस्य रहेका अमृतकुमार बोहोरा, केशव बडाल, पुष्प कँडेल र सोमनाथ प्यासी नेकपामा स्थायी आमन्त्रित सदस्य हुने भएका छन् ।

पूर्व माओवादीबाट नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोपवहादुर रायमाझी, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिवोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, अग्नि सापकोटा, मात्रिका यादव स्थायी समितिमा पर्ने लगभग पक्का छ ।

बाँकी ६ जना नेताहरुको नाम टुङ्गिन नसक्दा समस्या भएको हो । ६ जनाभित्र पर्न लिलामणि पोखरेल, मणि थापा, देवेन्द्र पौडेल, चन्द्रप्रसाद खनाल, कुलप्रसाद केसी, राम कार्की, हितमान शाक्य, तिलक परियार, लेखराज भट्ट, रामचन्द्र झालगायतका नेताहरुको नाममा छलफल चलिरहेको बुझिएको छ ।

पूर्व माओवादीबाट नेकपामा अमिक शेरचन भने आमन्त्रित स्थायी समिति सदस्य हुने भएका छन् । बाँकी सदस्य चयनको जिम्मा नेकपामा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिइएको छ । केही दिनभित्र स्थायी समितिलाई पूर्णता दिने तयारी भएको नेताहरुले बताएका छन् । दैनिक नेपाल बाट साभार