काठमाण्डु, १० जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकताको लागि आफू अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन् । अध्यक्ष थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको लागि तीन वटै राप्रपाबीच एकता हुनुपर्नेमा जोड दिँदै त्यसको लागि आफू अध्यक्ष पद छोड्न समेत तयार रहेको बताएका हुन् ।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,‘विगतमा जे कुराहरू भए, अब ती कुरामा आरोप–प्रत्यारोप गर्नुहुँदैन, एकता कायम गर्नुपर्छ, यस प्रयोजनको लागि म लोहनीजी र राणाजीलाई आह्वान गर्दछु, एकताका निम्ति म आवश्यक पर्यो भने अध्यक्ष पद छोड्न र हदैसम्मको लचकता अपनाउन तयार छु ।’
अध्यक्ष थापाले पछिल्लो समय धर्म परिवर्तन, भ्रष्टाचार, संविधानको आवरणमा बढ्दै गैरहेको सर्वसत्तावाद र बाह्य शक्तिको चलखेल प्रमुख चुनौतीको रूपमा देखा परेकोले यी सबै चुनौतीको सामना गर्नको लागि राष्ट्रियताको संरक्षण, हिन्दुराष्ट्रको पुनर्स्थापना, प्रजातन्त्रको सुदृढिकरण र प्रजातान्त्रिक शक्तिहरूकाबीचमा एकता अनिवार्य आवश्यक रहेको सुनाए ।
यसका साथै, संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भीर आरोप लगाएका छन् ।
उनले वर्तमान सरकार प्रतिपक्षी र विपक्षी दलहरूको क्रियाकलापप्रति असहिष्णु हुनु सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको प्रमाण भएको जिकिर गरे ।
राष्ट्रियताको पक्षमा विगतमा लिएको अडान र केपी ओलीलाई जनताले मत दिएको तर, जनताको म्याण्डेटअनुसार शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउनेमा अहिले शंका पैदा भएको थापाको आरोप छ।










