व्याङडाडा, १० जेठ–झापाको शिवसताक्षी नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक–शिक्षिकाले ई–हाजिरी गर्नुपर्ने भएको छ । ई–हाजिरी प्रणाली मार्फत समयमा बिद्यालय आइपुग्नु पर्ने र हाजिरी गरेर बिद्यालय बाहिर सभा तथा व्यात्तिगत कार्यक्रममा जाने कार्य रोकिने शिक्षा शाखा कार्यालय शिबससताक्षी नगरपालिकाको ठम्याई छ । शिक्षा कार्यालयले यो व्यवस्था लागु गरेसंगै सामुदायीक बिद्यालयको पठन–पाठनमा गतिशिलता आउने छ भने शिक्षक–शिक्षिकाहरुलाई परिबन्धमा पारेको छ ।

नगरका शिक्षा अधिकारी तोया रेग्मीले भने–‘बौद्धिक क्षेत्रमा यसअघि समय चोरी हुने गरिएको थियो, अब त्यो बन्द भयो । समयको महत्व अब विद्यालयका शिक्षकशिक्षिका र कर्मचारीले बुझ्ने छन’, रेग्मीले भने, ‘बिहान १० बजेदेखि ४ बजेसम्म अनिवार्य रुपमा अध्यापकले विद्यालयमा काम गर्नैपर्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामुदायिक विद्यालयमा बौद्धिक चोरी हुन नदिन नगरको शिक्षा लागिपरेको छ ।’ समयमा नआउने, विद्यालयमा आएर पनि हाजिर गरी अन्यत्रै जाने र काम ठगी विद्यालयमा अध्यापन गराउने शिक्षक अब १ मिनेट मात्र ढिलो गए गयल हुने छन् । यस्तै विद्यालयमा अध्यापन सकेर नगरपालिकाले तोकेको समयभन्दा १ मिनेटअगाडि निस्किए पनि गयल हुने शिक्षा अधिकारी रेग्मीको भनाई छ ।

शिवसताक्षी नगरपालिकाले पहिलो चरणमा २१ वटा सामुदायिक विद्यालयमा इहाजिर सुरु गरेको छ । बाँकी रहेका १५ वटा सामुदायिक विद्यालयमा पनि जेठ १५ सम्ममा जडान हुने शिक्षा अधिकारी रेग्मीले बताए । पहिलो चरणअन्तर्गत शिबसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमरिणर्य आर्दश माध्यमिक विद्यालय, वडा नंम्बर ८ झिलझिलेस्थित झिलझिले माध्यमिक विद्यालय, वडा नम्बर ७ व्याङडाडास्थित भगवती माध्यमिक विद्यालय, वडाँ नम्बर ७ लालझोडास्थित भानु माध्यमिक विद्यालय, वडाँ नंम्बर १० आँपटारीमा रहेको बाल निकुन्ज माध्यमिक विद्यालय लगायतका समदुायीक विद्यालयहरुमा इहाजिर मेसिन जडान भएका छन् ।

नगरका सबै सामुदायिक विद्यालयमा इहाजिर सुरु गर्ने जिल्लामा शिवसताक्षी नगरपालिका कार्यालय पहिलो हो । यसअघि हल्दिबारी गाउँपालिका कार्यालयका केही सामुदायिक विद्यालयले इहाजिर सुरु गरेको थियो । विद्युत सेवा नपुगेका र कम्प्युटर नभएका विद्यालयका हकमा ६ महिनाभित्र विद्युत विस्तार गरी नगरपालिकाले इ-हाजिर गर्ने नगरपालिकाले जनाएको छ ।

बिहानको हाजिर गरेर विद्यालयको कामका लागि वा व्यक्तिगत रुपमा आकस्मिक बाहिर जानुपर्ने शिक्षकले पनि साविकको नियमभन्दा केही कडा नियम सामना गर्नुपर्ने भएको छ । विद्यालयका प्रधानाध्यापकलाई कामको व्यहोरा खुलाई निवेदन दिने, हाजिरको लगबुक भर्ने र विद्यालयका प्रधानाध्यापकले साप्ताहिक रुपमा नगरमा प्रतिवेदन नबुझाए विदा स्वीकृत नहुने भएको छ ।

नगरका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको विकास गर्न यो प्रणाली नगरले अवलम्बन गरेको नगरका प्रमुख प्रमुख चन्द्रकुमार शेर्माले बताए । नगरका सामुदायिक विद्यालयमा शिक्षकले समय नदिएको जनगुनासो बढेपछि नगरले शिक्षकशिक्षिकाको हाजिर गर्ने विधि परिवर्तन गरेको प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए ।

नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र नगर शिक्षा अधिकारीको कार्यकक्षमा यसको रेकर्ड अनलाइन सफ्टवेयरमार्फत पुग्ने नगरपालिकाले जनाएको छ । यसैबीच, शेर्माले नगरको शिक्षा खस्कन नदिन नगरले करोडौँ खर्च गर्न सक्ने बताए ।