काठमाडौं– ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणी उप्रेती ‘गोरे’को तेस्रो दिन पनि बयान नसकिएपछि जिल्ला अदालत मोरङले आइतबारलाई पनि बयान निरन्तर राखेको छ।
जिल्ला अदालत मोरङका अनुसार बयानमा नयाँ-नयाँ तथ्यहरु खुलेका कारण बयान लम्बिएको हो। मंगलबार अबेर जिल्ला अदालतमा गोरेलाई पेश गरिएकाले बुधबारबाट अदालतमा थुनछेक बयान शुरु भएको थियो। आइतबारसम्ममा गोरेको बयान सकेर थुनछेक बहस हुने जिल्ला अदालतले जनाएको छ।
शुक्रबारबाटै थुनछेक बहस सुरु गर्ने तयारीमा सरकारी वकिलहरु रहे पनि बयान समाप्त नभएपछि आइतबारका लागि बहस राखिएको छ। जिल्ला न्यायाधीश नारायाणप्रसाद शर्माको इजालशमा बयान जारी छ।
गोरेलाई मुख्य अभियुक्तका रुपमा हेरिएकाले उनले दिने बयानमा थप संलग्न व्यक्तिहरुको खुलासा हुने भएकाले यो बयानलाई अन्य व्यक्तिको पोल खुल्ने रुपमा हेरिएको छ।
यसअघि सुन तस्करीका ३० प्रतिवादीको मुद्दामा पनि शर्माले नै थुनछेक बहस गरेका थिए। न्यायाधीश शर्माको इजलाशले मंगबार ३० अभियुक्त मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश गरेको थियो। नेपाल लाइभ बाट










