काठमाडौं– निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले नयाँ बजेटमा कर्मचारीहरुको तलबभत्ता वृद्धि गर्न माग गर्दै अर्थमन्त्री डा युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन्।

कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मको तलव समायानुकुल बनाउनुपर्ने भन्दै उनीहरुले अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आधिकारिक कर्मचारी युनियनका अध्यक्ष पुन्य ढकालले महँगी र यसअघि गठन भएका प्रशासन सुधार आयोगको सिफारिस अनुसार बजेट भाषण मार्फत तलव वृद्धि गर्न माग गरिएको जनाए।

उच्चस्तरीय तलब आयोग २०६१ को सिफारिश अनुसार वर्षेनी कर्मचारीको तलब समायोजन गर्नुपर्ने कुरा आफूहरुले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएको उनले बताए।

जेठ १५ मा हुने बजेट भाषणअघि कर्मचारी युनियनहरुले तलव वृद्धीका लागि दबाब दिन सुरु गरेका हुन्। कार्यालय सहयोगीको तलब ३० हजार पुर्‍याउनुपर्ने र मुख्य सचिवको तलब ५८ हजारबाट बढाएर डेढ लाख पुर्‍याउन माग गरिएको ढकालले जनाए। अहिले कार्यालय सहयोगीले मासिक १८ हजार रुपैयाँ तलब पाउँदै आएका छन्।

यस्तै, कर्मचारी समायोजन ऐनअनुसार स्वेच्छिक अवकाशमा निवेदन दिएकाहरूलाई अवकाश दिने प्रक्रिया अघि बढाउन पनि युनियनले ध्यानाकर्षण गराएको छ।

बजेटमै स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई दिइने सात वर्षको पेन्सन रकम उल्लेख गरिदिन माग गरिएको हो। स्वेच्छिक अवकाशमा ९ हजार ६ सय ५६ कर्मचारीले निवेदन दिए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रक्रिया रोकेको छ।