नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष मध्येका एक जना पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालका तस्बिरहरू कोट्याउँदै जाँदा एउटै दुर्लभता छ– मुस्कान । दैनिक जीवनमा पनि सीताको मुस्कान खोज्न निक्कै मुस्किल छ । यसैबेला त झनै मुस्किल छ ।
सीता दुई पटक प्रधानमन्त्रीपत्नीका हैसियतमा भारतलगायतका विभिन्न देशको भ्रमणमा प्रचण्डसँग पुगिन् । क्यामेराहरूमा निक्कै तस्बिर कैद भए तर उनको मुस्कान कैद हुन सकेन ।
आफन्त, घरका परिवारसहितका अनौपचारिक कार्यक्रमलगायतका तस्बिरहरू पर्याप्त छन् । तर उनको मुस्कान भएको तस्बिर खोज्नु दुर्लभ काम हो । यस्तो लाग्छ– कि सीताले हाँस्ने मौका नै पाएकी छैनन् ।
एउटी आमा भएकी नाताले उनले सन्तानको खुसीमा हाँसिन होला । यो अनुमानको उत्तर हो । तर सार्वजनिक रूपमा उनको मुस्कान देखिएको छैन । भावुक सीताको उन्माद हाँसोको खोजी सायद प्रचण्ड पनि गरिरहेका छन् । परिवारका अन्य सदस्य पनि गरिरहेका होलान् ।
शनिबार विहान नेपाल पर्यटन बोर्डको प्राङ्गणमा छोरा प्रकाश दाहालको स्मृतिमा सगरमाथा आरोही संघले राखेको रक्तदान कार्यक्रममा उनी देखिइन् । आशा थियो– छोराको सम्झनामा उनको केही झलक मुस्कान क्यामेरामा कैद हुनेछन् । तर ठिक त्यसको उल्टो भयो । उनी कार्यक्रमस्थलमा छोराको तस्बिरसँगै राखिएको ‘हार्दिक श्रद्धाञ्जली’ पढेर भक्कानिइन् । उनको भावुकता देखेर प्रचण्ड पनि मलिन्द्र भए ।
सीता चिन्ता र तनावसँगै विक्षिप्ततामै रहेको जस्तो देखिन्थ्यो । पारिवारिक सदस्यले उनको स्वास्थ्य समस्याबारे खुलाएका छैनन् तर उनको हाउभाउ र शैलीले प्रस्ट देखाउँछ– उनी स्वास्थ्य समस्यामा छिन् । उपस्थित धेरैले उनको यो शैलीको हेक्का राखेका थिए । कोही साउती मार्दै भन्दैथिए,‘सीता आमालाई स्वास्थ्यमा समस्या हो र ?’
रक्तदान कार्यक्रममा प्रचण्ड, सीता, खानेपानी मन्त्री तथा प्रकाशपत्नी बिना मगर, छोरीहरू रेणु, गंगा सबै उपस्थित थिए । प्रकाश दाहालसहितको टोली शान्तिको अभियानमा सगरमाथा आरोहणमा सफल भएको दिन, २६ मे पारेर संघले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
हत्तपत्त सीताले मुस्कान दिने गरेकी छैनन् । युद्धकालका तस्बिर हुन् या अहिलेका उनी सामान्य अवस्थामा पनि गम्भिर मुद्रामा देखिने गरेकी थिइन् । यतिबेलै चाहीँ उनी अलिक बिरामी, विक्षिप्ततामा पनि छिन् । ‘उहाँको मुटुले आमा हुनुका नाताले कति दुखलाई सम्हालेको होला, फेरि स्वास्थ्यमा पनि समस्या देखिएको छ’, परिवारनिकट एकजनाले भने,‘नियमित उपचार र औषधि सेवन पनि चलिरहेको छ ।’
हो, उनलाई केही समस्या छ । त्यसको उपचारका लागि नयाँ दिल्लिको एपोलो अस्पतालमा केही महिना अघि पुगेकी थिइन् । छोरी रेणु र गंगाले उनलाई नयाँ दिल्लिमा स्वास्थ्य देखाएर फर्काएका थिए । दैनिकनेपाल बाट साभार










