जेठ १३, काठमाडौं (अस) । आइतवार बसेको प्रतिनिधिसभा बैठकबाट सरकारले आव २०७५÷७६ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो । यसअघि प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस र प्रतिपक्ष राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दर्ता भएको संशोधनका सूचना निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो । सङ्घीय समाजवादी फोरम नेपालका चार सांसदले भने प्रधानमन्त्रीको स्पष्टीकरणपछि संशोधन फिर्ता लिएका थिए ।
प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १५ गते साँझ ६ः३० बजे बस्नेछ । उक्त बैठकमा सरकारले आगामी आवको बजेट प्रस्तुत गर्ने छ ।
आर्थिक सर्वेक्षण प्रस्तुत
चालु आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गरिएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा चालू आवको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।
आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले शेयर बजारमा स्थिरता आउने, बजेट घाटा बढ्न थालेको, मूल्यवृद्धिमा चाप परेको बताएका छन् । अभियान ड्ट कम बाट










