काठमाडौं- साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका चूडामणि उप्रेती 'गोरे'ले सुनका मुख्य तस्कर फेला पार्न राजनीतिक दलका नेता र प्रहरीका उच्च अधिकारीलाई पक्रनुपर्ने बताएका छन्।

जिल्ला अदालत मोरङलाई दिएको बयानमा उनले तस्करीमा दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीको मिलेमतो रहेको बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मानिसको मिलेमतोमा हुने गर्छ, को-को संलग्न छन्, यकिन भन्न सक्दिनँ। तस्करीबाट आउने सुन सबै इन्डिया जान्छ’, उनले बयानमा भनेका छन्।

गोरेले आफू सुन तस्करीमा तल्लो तहको मानिस भएकाले लेखिए अनुसारको बिगो आफूलाई कायम नहुने दाबी समेत गरेका छन्।

‘मभन्दा माथिल्लो लेयरका सुन तस्करीका नाइके, प्रहरीका उच्च अधिकारी तथा राजनीतिक दलका ठूला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुन्छ’, गोरेले बयानमा भनेका छन्, ‘मृतक सनम शाक्यलाई कसैले अपहरण गरेको छैन, निजलाई मैले करेन्ट लगाएको समेत छैन।’