१३ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा, सिञ्चाई तथा जलश्रोतमन्त्री वर्षमान पुनलाई बर्खास्तीको तयारी गरेको भन्ने समाचारप्रति मन्त्री पुनको सचिवालयले आपत्ति जनाएको छ ।

भारतबाट आयातित बिजुलीको दरमा अनियमितता गरेको आरोपमा पुनलाई मन्त्रीबाटै हटाउने तयारी भएको समाचार आएपछि उनको सचिवालयले त्यस सम्बन्धमा मुख खोलेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्बन्धित पक्षको भनाइबिना आएका त्यस्ता समाचारले सम्बन्धित सञ्चार माध्यमप्रतिकै विश्वासमा आँच आउनेतर्फ सचेत गराएका छन् ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग जोडेर केही अनलाइन मिडियाले उर्जामन्त्री वर्षमान पुनको बारेमा लेखेको समाचारप्रति हाम्रो ध्यानआकर्षण भएको छ’, खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै प्रधानमन्त्रीज्यूले उर्जामन्त्रीलाई हटाउन लागेको भन्ने समाचारमा कुनै सत्यता नभएको जानकारी समेत गराउँदछु ।’ तथ्यहीन समाचार प्रकाशित गरेर चरित्र हत्या नगर्न पनि खड्काले भनेका छन् ।