ठेक्का लिएर राम्रो काम नगर्ने, समयमा काम नसक्ने र ठगीको व्यापार गर्ने ठेकेदारलाई सरकारले तह लगाउने भएको छ । गृह मन्त्रालयमा ठग ठेकेदारको सूचीको फेहरिस्त तयार पारिएको छ ।
विभिन्न जिल्ला प्रशासन कार्यालयलाई मन्त्रलायले उर्दी जारी गरेपछि ठगहरूको नाम गृह मन्त्रालयमा जम्मा हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्माण व्यवसाय सम्बन्धी काम गर्ने व्यवसायीको विवरण गृह मन्त्रालयलाई बुझाएको छ । जनप्रहार साप्ताहिकले समचार छापेको छ ।
कार्यालयले काठमाडौंका ५ सय व्यवसायीको विवरण बुझाएको गृह स्रोतले बतायो । निर्माणमा हात हाल्ने, सरकारबाट रकम असुल्ने तर गुणस्तरीय काम नगर्ने, समयमा नसक्नेको सूचीका लागि गहृले नाम संकलन गरिरहेको हो ।
विवरण अनुसार अहिलेसम्म विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएका व्यवसायी मध्ये दुई सयले मात्र समयमा काम सम्पन्न गरेको देखिएको छ । तीन सय व्यवसायीले निर्धारित समयमा काम सम्पन्न गरेका छैनन् ।
गृहमन्त्री थापाले समयमा नै काम सम्पन्न नगर्ने व्यवसायीहरूलाई पक्राउ गर्ने समेत निर्देशन दिएका थिए । त्यही निर्देशन अनुसार कास्की, रुपन्देही, झापा लगायत जिल्लामा केही निर्माण व्यवसायीहरू पक्राउ समेत परेका छन् ।
काठमाडौँमा पनि समयमा नै निर्माण सम्पन्न नगर्ने व्यवसायीलाई पक्राउ गर्ने तयारी भइरहेको गृह स्रोतले जानकारी दिएको छ ।










