प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र गणतन्त्र सँगै अगाडि जान नसक्ने बताउनुभएको छ ।

११औं गणतन्त्र दिवसका अवसरमा मंगलबार टुँडीखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रमा गरिबीलाई अन्त्य गरिने बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गरिबी निवारणका लागि आम जनताको कष्ट हटाउने गरेर राष्ट्रिय आयोजनाहरू चालू गरिरहेको र सबैलाई शिक्षा तथा सबैलाई स्वास्थ्य सुविधा सरकारको प्रस्थानविन्दु रहेको उहाँले बताउनुभयो ।

गणतन्त्रलाई समाजको विकाससंगै गतिशील हुने प्रणालीको रूपमा व्याख्या गर्दै प्रधानमन्त्री ओलीले यो राजनीतिक उपलब्धि मात्र नभएर सामाजिक सुधारको द्योतक पनि रहेको धारणा राख्नुभयो ।

गणतन्त्रमै आधारित भएर नेपालीहरूले आफ्नो आचरण र व्यवहार परिवर्तन गर्दै जानुपर्ने उहाँको भनाइ छ ।

‘राष्ट्रिय एकता व्यापक र सुदृढ भएको अनुभव भइरहेको छ । यस्तो बेलामा यस राष्ट्रिय मूलाधारमा आफूलाई समाहित नगरी असान्दर्भिक र अराजक क्रियाकलाप गर्ने काम क्षम्य हुन सक्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

करीब १० मिनेट बोल्नुभएका प्रधानमन्त्री ओलीले गणतन्त्र राजनीतिक मात्र नभएर समग्र सामाजिक सुधारको विषय पनि हो भन्दै यस्तो उज्यालो अवस्थामा जनताको नजरमा अध्यारो अनुहार बनाउनेहरू सच्चिनुपर्ने बताउनुभयो ।