एजेन्सी । फिफा विश्वकप फुटबलको २१ औं संस्करण जेठ ३१ गतेबाट रसियामा सुरु हुँदैछ । विश्वकप सुरु हुन् अब मात्र १६ दिन बाँकी छ । र, विश्वकप फुटबलको दिनगन्ती सुरु भैसकेको छ ।
विश्वकपको दिनगन्ती सुरु भएसँगै विश्वका फुटबल प्रेमीको ध्यान अहिले रसियातर्फ मोडिएको छ । फुटबल प्रेमीहरु विश्वकप फुटबलको उपाधि जित्ने टोलीको अनुमान लगाउन थालेका छन् । यद्यपी, विश्वकपमा सहभागी ३२ टोली नै उत्कृष्ट रहेको कारण उपाधि जित्ने टोलीको अनुमान लगाउन भने कठिन देखिएको छ ।
विश्वकपमा सहभागी सबै टोली आफुलाई बलियो प्रतिस्पर्धीको रुपमा मैदान उत्रन चाहन्छ । रुस विश्वकपमा बलियो दाबेदारका रुपमा प्रस्तुत हुने टोली पोर्चुगल पनि एक हो । त्यति मात्र हैन पोर्चुगलसँग सन् २०१६ को युरोकप विजेताको हैसियत समेत रहने छ ।
ad ad
पोर्चुगल विश्व फुटबलका स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रने छन् । रुस विश्वकपमा प्रतिस्पर्धा गरिरहेका पोर्चुगललाई फिफाको चौथो वरियता समेत हुने छ । जसको कारण रुस विश्वकपमा पोर्चुगललाई दाबेदारको रुपमा हेरिएको अन्तर्रा्ष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।
विश्वकपमा पोर्चुगलको इतिहास
विश्व फुटबलको महाकुम्भ विश्वकपमा पोर्चुगलले ६ पटक प्रतिस्पर्धा गरिसकेका छन् । जसमा पोर्चुगलले दुई पटक सेमिफाइनलको यात्रा तय गरेको छ । सन् १९६६ मा पहिलोपटक विश्वकप खेलेको पोर्चुगलले त्यसपछि सन् १९८६, २००२,२००६,२०१० र २०१४ मा सहभागिता जनाएको छ ।
सन् १९३८ बाट विश्वकप छनौट खेल खेल सुरु गरेको पोर्चुगलले सन् १९६६ मा मात्र विश्वकप खेल्ने अवसर पाएको थियो । पोर्चुगलले विश्वकप फुटबलको पहिलो सहभागितामै आफ्नो उपस्थिति बलियो देखाएको थियो ।
पोर्चुगलले पहिलो पटक खेलेको सन् १९६६ को विश्वकप इंग्ल्यान्डले आयोजना गरेको थियो । इंग्ल्यान्ड विश्वकपमा पोर्चुगलले आफ्नो समूह चरणका सबै खेल जितेको थियो । समूह चरणको पहिलो खेल हंगेरीलाई ३—१ गोल अन्तरले पराजित गरेको पोर्चुगलले दोस्रो खेलमा बुलगेरियालाई ३—० गोल अन्तरले हराएको थियो । समूह चरणको अन्तिम खेलमा ब्राजिललाई ३—१ गोल अन्तरले पराजित गर्दै पोर्र्चुगल क्वाटरफाइनल प्रवेश गरेको थियो ।
क्वाटरफाइनलमा उत्तर कोरियालाई ५—३ गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सेमिफाइनल यात्रा तय गरेको थियो । तर, सेमिफाइनल पुगेपछि पोर्चुगलको यात्रामा इंग्ल्यान्ड बाधा बन्यो । सेमिफाइनलमा पोर्चुगल इंग्ल्यान्डसँग २—१ गोल अन्तरले पराजित हुँदै तेस्रो स्थानतर्फ धकेलिएको थियो । र, पहिलो सहभागितामै तेस्रो हात पार्ने क्रममा पोर्चुगलले सोभियत युनियन २—१ ले पराजित गरेको थियो ।
पोर्चुगललाई तेस्रो स्थानसम्म पुर्राउन स्ट्राइकर युसेबियो डा सिल्भा फेरिराले सर्वा्धिक ९ गोल गरेका थिए । फेरिरा विश्वकप फुटबलमा पोर्चुगलका लागि सर्वा्धिक गोल गर्ने खेलाडी पनि हुन् ।
सन् १९८६ : २० वर्षपछि पुनरागमन
सन् १९६६ मा पहिलोपटक विश्वकप खेलेको पोर्चुगलले विश्वकपमा दोस्रो पटक सहभागिता जनाउन लामै समय कुर्नु परेको थियो । पोर्चुगलले दोस्रो पटक मेक्सिकोमा आयोजना भएको सन् १९८६ को विश्वकपमा सहभागिता जनाउन सक्यो । जुन, पोर्चुगलले २० बर्षपछि पुन विश्वकप खेलेको थियो ।
विश्वकपको दोस्रो सहभागितामा समूह चरण पार गर्न नसकेको पोर्चुगलले इंग्ल्यान्डलाई मात्र हराएको थियो । पोर्चुगलले पहिलो खेलमा इंग्ल्यान्डलाई १—० ले पराजित गरेको थियो । त्यसपछि समूह चरणको दोस्रो खेलमा पोल्याण्डसँग १—० र अन्तिम खेलमा मोरक्कोसँग ३—२ गोल अन्तरले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो ।
सन् २००२ :
सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा विश्वकप आयोजना गरेको थियो । उक्त विश्वकपमा छनोट हुँदै पोर्चुगलले १६ बर्षपछि पुन विश्वकप खेलेको थियो । तर, पोर्चुगलले दोस्रो चरणमा स्थान बनाउन सकेन ।
सन् २००२ को विश्वकपको दोस्रो खेलमा पोल्याण्डलाई ४—० गोल अन्तरले हराएपनि पोर्चुगल पहिलो खेलमा अमेरिकासँग ३—२ र अन्तिम खेलमा दक्षिण कोरियासँग १ – ० ले पराजित हुँदै समूह चरणबाटै बाहिरीएको थियो ।
सन् २००२ पछि भने पोर्चुगलले लगातार विश्वकप खेल्दै आएको छ ।
सन् २००६ : फ्रान्स बाधक
सन् २००६ मा जर्मनीमा आयोजना भएको १८ औं संस्करणको विश्वकपमा पोर्चुगलले चौथो स्थान हासिल गरेको थियो । जर्मनी विश्वकपको समूह डी मा रहेको पोर्चुगलले अंगोला, इरान र मेक्सिकोलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो ।
पोर्चुगलले अन्तिम १६ मा नेदरल्याण्डलाई १—० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । क्वाटरफाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३—२ गोलले हराउँदै पोर्चुगल सेमिफाइनल प्रवेश गरेको थियो ।
सेमिफाइनलमा भने पोर्चुगल फ्रान्ससँग १—० गोल अन्तरले पराजित भएको थियो । त्यसपछि तेस्रो र चौथो स्थानका लागि भएको खेलमा पोर्चुगल आयोजक राष्ट्र जर्मनीसँग ३—१ गोल अन्तरले पराजित हुँदै चौथो स्थानमा समेटिएको थियो ।
सन् २०१०
सन् २०१० को विश्वकप भने पहिलोपटक अफ्रिकी राष्ट्र दक्षिण अफ्रिकामा आयोजना गरिएको थियो । जसमा पोर्चुगल अन्तिम १६ बाट बाहिरीएको थियो । समूह चरणका खेलमा आइभरी कोस्ट र ब्राजिलसँग बराबरी खेलेको पोर्चुगलले उत्तर कोरियालाई ७—१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो । अन्तिम १६ मा स्पेनसँग १—० ले पराजित भएपछि पोर्चुगलको विश्वकप २०१० को यात्रा रोकिएको थियो ।
सन् २०१४
सन् २०१४ को ब्राजिल विश्वकपमा पोर्चुगलले पनि सहभागिता जनायो । ब्राजिलले विश्वकप दोस्रो पटक आयोजना गरिरहदा पोर्चुगल प्रदर्शन भने राम्रो हुन् सकेन । समूह चरणकै पहिलो खेलमा जर्मनीसँग ४—० गोल अन्तरले पराजित भएको पार्चुगल दोस्रो खेलमा अमेरिकासँग २—२ को बराबरीमा रोकिएको थियो । समूह चरणको अन्तिम खेलमा घानालाई २—१ गोलले पराजित गरेपनि पोर्चुगल अन्तिम १६ मा भने पुग्न सकेन ।
रुस विश्वकपमा भने पोर्चुगल समूह बि मा रहेको छ । यो समूहमा पोर्चुगल सहित स्पेन, मोरोक्को र इरान रहेका छन् । पोर्चुगलले पहिलो खेल स्पेनसँग खेल्नेछ ।
रुस विश्वकपमा पोर्चुगलको टोली :
गोलकिपर : एन्थोनी लोपेज, रुइ पाट्रीसियो, बेटो
डिफेन्डर : ब्रुनो आल्भेज, केड्रिक सोअरेज, जोसे फोंटे, मारिओ रुइ, पेपे, राफेल, रिकार्डो पेरेइरा, रुबेन डीयास
मिडफिल्डर : एड्रीयन सिल्भा, ब्रुनो फर्नानडेज, जोआओ मारिओ, जोआओ मोंटिनो, मान्युअल फर्नानडेज, विलियम कर्भाल्हो,
फरवार्ड : क्रिस्टियानो रोनाल्डो, आर्नेट सिल्भा, बेर्नान्डो सिल्भा, गेल्सन मार्टिन, गोन्कालो गुइडिज, रिकार्डो क्वारिस्मा
बार्हखरी बाट



