पाँचथर– पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा १ जनाको मृत्यु भएको छ।

मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा१७च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–७, टारीमा पुग्दा पिकअपबाट खसेर घाइते भएका उनको उपचारका लागि पाँचथर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो।

उकालो बाटोमा पिकअपको पछाडि भागमा भाइको शवसँगै बसेका उनको गाडीको गियर परिवर्तन गर्दा खसेको प्रहरीले जनाएको छ। दुई वर्षअघि काम गर्न मलेसिया पुगेका भाइ देवीप्रसादको मलेसियामा एक हप्ताअघि गाडी दुर्घटनाबाटै ज्यान गएको बताइएको छ।

घटनापछि गाडी र चालकलाई जोरपोखरी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब निरीक्षक वामदेव गौतमले बताए। रासस