अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाइन मिलाउने काम गरेको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् ।

त्यसयता उनले नै तस्करलाई प्रहरीको लाइन मिलाउँदै आएका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०७३ पुस २१ मा साढे ३३ किलो सुन बरामद गरेपछि सुनतस्करसँगको उनको सम्बन्ध खुलेको हो। त्यति बेला रञ्जितकुमार गुप्ताले सिआइबीलाई दिएको बयानअनुसार २०६८ देखि खत्री सुन व्यापारीसँगको संगतमा रहेका थिए। महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत रहँदा पनि उनी सुन व्यापारीसँग उठबस गर्थे । खत्रीले त्यति बेला गुप्तालाई महँगो ब्याजदरमा ऋण दिनुका साथै गुप्ताले सञ्चालन गरेको साडी कुर्ता पसलमा समेत लगानी गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिआइबीको प्रतिवेदनअनुसार खत्रीले श्रीमतीका नाममा पाँच वर्षअघि ‘अलंकार इन्टरप्राइज’ नामको सुन पसल दर्ता गराएका थिए । खत्रीले सुन माफियासँग सम्बन्ध बढेपछि नै पसल दर्ता गराएका हुन् तर सञ्चालनमा नल्याई उनले तीन वर्षअघि रवीन्द्र केसीलाई पसल बिक्री गरेका थिए। खत्रीले गुप्तालाई १७ लाख रुपैयाँ ऋण दिएका थिए । यो स्रोत भेटिएको थिएन। खत्रीले सुरुमा महिनाको २ प्रतिशतका दरले रुपैयाँ ब्याजमा लगाएका थिए। पछि ब्याज बढाएर तीन प्रतिशत पु‍-याएका थिए। नागरिक दैनिकबाट ।