काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका सबै विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका सबै सम्पर्क कार्यालय असारभित्र खारेज गर्न निर्देशन दिइएको जानकारी गराउनुभएको छ । मन्त्री पोखरेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ‘सार्वजनिक विद्यालय सुधार योजना’ सार्वजनिक गर्न लागिएको पनि जानकारी दिनुभयो ।
सार्वजनिक विद्यालय सुधारको माग चौतर्फी रुपमा भईरहेका बेला सरकारले त्यसका लागि आवश्यक व्यवस्था गर्न सुधार योजना सार्वजनिक गर्न लागेको हो । मन्त्री पोखरेलले शिक्षाको गुणस्तर सुधारका लागि ‘सार्वजनिक विद्यालय सुधार योजना’ बनाउनु परेको स्पष्ट पार्नु भयो ।
उहाँले आयुर्वेद विश्वविद्यालय स्थापना र संचालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको पनि बताउनु भयो । सरकारले संविधान अनुकूल हुनेगरी राष्ट्रिय पाठयक्रम प्रारुप पनि तयार पारेको छ । पाठयक्रममा विद्यालय तहमा पेशालाई व्यवसायिक विषयको रुपमा अनिवार्य व्यवस्था गरिएको छ ।
मन्त्री पोखरेलले कक्षा १ र कक्षा १२ मा जीवन उपयोगी शिक्षाको अनिवार्य व्यवस्था हुने गरी पाठयक्रम तय गरिएको पनि स्पष्ट पार्नु भयो ।उहाँले पछिल्लो एक महिनामा सरकारले विद्यालय भर्ना अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको, स्थानीय शिक्षाको नमूना कानुन तयार पारिएको जानकारी दिनु भयो ।जनता समाचार बाट










