काठमाडौं, जेठ १८ /सरकारले आर्थिक बर्ष २०७५/७६ को बजेटबाट सीसीको आधारमा मोटरसाइकलमा कर लगाएसँगै नेपाली बजारमा मोटरसाइकलको मूल्य वृद्धि हुने भएको छ ।
१५० सीसीसम्मको बाइकमा सडक दस्तुर बाहेक अन्य कुनै कर थप गरिएको छैन भने, १५१ सीसीदेखी २५० सीसीसम्मका बाइकमा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरिएको छ । यस्तोमा नेपाली बजारमा युवाहरुको रोजाइमा रहेका प्रमुख ५ वटा बाइकमा मूल्य वृद्धि हुने भएको छ ।
अहिले नेपाली बजारमा २ लाख ९३ हजारदेखि ४ लाख ६४ हजारसम्ममा विक्री भइरहेका यस्ता बाइकको मूल्य १७ हजारदेखि झण्डै २२ हजारसम्म बढ्ने अनुमान सुरू भएको छ । यी १५० सीसीदेखि २५० सीसीसम्मका बाइकमा सडक कर ६ हजार रुपैयाँले बढी तिर्नुपर्ने छ । यसअघि १२ हजार रहेको सडक कर अहिले १८ हजार बनाइएको छ ।
यसअघि मोटरसाइकल आयातमा सरकारले भन्सार ३० प्रतिशत, ४० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लिर्दै आएको थियो । अब अन्तःशुल्क भने ५० प्रतिशत लाग्ने छ । भन्सार र भ्याटमा कुनै परिर्वतन गरिएको छैन ।










