प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुपर्ने बताएका छन् ।

केही समयअघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ” प्रधानमन्त्री ओलीले भने, “सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नु राम्रो हुन्छ ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा कहिले पनि लापरवाही गर्नु नहुने बताए । प्रधानमन्त्री ओलीले भने, “हिमाल आरोहणलाई मजाकको बिषय बनाउनु हुदैन । स्वास्थ्यले साथ नदिए वा बढ्ता जोखिम मोलेर जानु हुदैन । स्वास्थ्य ठिक भएपछि वा जोखिम घटेपछि पुन आरोहणको प्रयास गर्नुपर्दछ । सफलता पाइन्छ ।”

आफूलाई पनि सगरमाथा आरोहणको रहर भएपनि युवा अवस्थामा राजनीति गर्दा भूमिगत बस्नु परेको र त्यसपछि १४ बर्षसम्म जेल बस्नु परेकोले त्यो अवशर नपाएको प्रधानमन्त्री ओलीले बताए । “मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो” उनीले भने, “भूमिगत जीवन, जेल जीवनले पाइन । जब जेलबाट छुटे पछि कमजोर स्वास्थ्यले दिएन ।”

सगरमाथा आरोहण गर्ने पाँच महिला पत्रकारको सम्मानमा प्रथम महिला श्रीमती राधिका शाक्यले कार्यक्रम आयोजना गरेकी थिइन् । सफल आरोही पत्रकार रोजिता बुद्धाचार्य, रोसा बस्नेत, देउराली चाम्लिङ, कल्पना महर्जन, प्रियालक्ष्मी कार्की हुन् । कार्की स्वास्थ्यको कारणले ७ हजार मिटरबाट फर्केकी थिइन् ।

आरोहीहरुलाई प्रधानमन्त्री ओली, प्रथम महिला शाक्यले सम्मान गरे । यसैगरी उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोख्रेल, सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का महासचिब बिष्णु पौडेलले सम्मान गरेका थिए । दैनीक नेपाल बाट