राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि आज स्वदेश ल्याइँदैछ ।

नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा स्वस्थ्य भएपछि उनलाई स्वदेश ल्याउन लागिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन । “भारतमा उपचारमा गराउँदा उहाँ पूर्ण रुपमा स्वस्थ हुनुभएको छ”, उनले भनिन्, “त्यसैले अब चिकित्सकको सल्लाहमा उहाँ शनिबार स्वदेश फर्कन थाल्नुभएको हो ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार राष्ट्रकवि शनिबार बिहान १०ः४० बजे नेपाली वायु सेवा निगमको जहाजबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ । राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट आउने रक्तस्राव नरोकिएपछि उपचारका लागि यहीजेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार एकाइ (हाइकेयर युनिट) बाट क्याबिनमा सारिएको थियो ।

नयाँदिल्ली जानुअघि उनको वैशाख २८ गते धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको थियो । मेदान्त अस्पतालका चिकित्सक डा रणवीर सुदको टोली उनको उपचारमा संलग्न थियो । घिमिरेका साथमा उनका छोरा इन्दिवर पनि गएका छन्। करीब चार महिनादेखि अस्वस्थ घिमिरेलाई मेडिसिटी र ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो । सरकारले ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने घोषणा गरेको छ । रासस