गृहमन्त्री रामबहादुर थापा बादलले संगठित रूपमा भइरहेको सुन तस्करीको सञ्जाल भत्केर छाड्ने दाबी गरेका छन् । शुक्रबार विराटनगरमा प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सुन तस्करीको विषयमा गम्भीर रूपमा छानबिन भइरहेको दाबी गरे ।
उनले सुन तस्करीका विषयमा सरकारले गठन गरेको छानबिन समितिले काम गरिरहेको भन्दै यसमा संलग्न धेरै व्यक्तिलाई मुद्दा पनि चलाइसकिएका कारण सुन तस्करीको जालो तोड्न समय नलाग्ने तर्क छ ।
गृहमन्त्री थापाले अवैध रूपमा भइरहेको सुन तस्करीमा संलग्नलाई कारबाही गर्न कुनै कसर नछाडिने बताए । वर्तमान राजनीतिका विषयमा बोल्दै गृहमन्त्री थापाले देशमा दुई ठूला परिघटना भएको र पछिल्लो परिघटनाले मुलुकलाई आर्थिक समृद्धिको बाटोतर्फ अग्रसर गराउने जिकिर गरे । राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना एउटा ठूलो उपलब्धि रहेको र अहिले कम्युनिस्ट पार्टीको एकता हुनु महŒवपूर्ण उपलब्धि रहेको बताए ।
जेठ १५ मा आएको बजेटले मुलुकमा ८ प्रतिशत आर्थिक वृद्धिदर निश्चित गरेको दाबी गरेका मन्त्री थापाले भने, ‘अब कानुन उल्लंघन हुनेछैन, देश शान्ति, स्थायित्व र विकासमा अघि बढ्छ ।’ यस्तै वर्तमान सरकारले छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रगाढ बनाउँदै लगेको जिकिर गरे । प्रधानमन्त्रीको भर्खरै सम्पन्न भारत भ्रमण र हुन लागेको चीन भ्रमणले नेपालको दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाएर लैजाने विश्वास व्यक्त गरे ।
बजेट भाषण आएसँगै विभिन्न सामग्रीमा मूल्य वृद्धि भएको जिज्ञासामा मन्त्री थापाले नेपालमा बजेटका कारण मूल्य वृद्धि नभएको तर्क गरे । विश्व बजारमा हुने उतारचढावका कारण केही वस्तुको नेपालमा मूल्य वृद्धि हुन सक्ने भन्दै त्यसका अलावा हुने मूल्य वृद्धिको कडा अनुगमन र कारबाही गरिने बताए । उनले थपे, ‘कुनै पनि बहानामा कालोबजारी गर्नेलाई सरकारले छाड्दैन ।’
थापाले सबै प्रकारका कालोबजारी र सिन्डिकेट अन्त्य गर्न सरकार लागि परेको जानकारी दिँदै कामको जिम्मा लिएर समयमा काम नसक्ने कामचोर ठेकेदारका विषयमा पनि सरकार कठोर बन्ने चेतावनी दिए । राजधानी दैनिक बाट










