ताप्लेजुङ, १९ जेठ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक समृद्धिको आधार नै भौतिक पूर्वाधारको विकास भएकाले यसमा हेलचक्र्याई गर्नलाई नछोड्ने बताएका छन् ।ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको शनिबार उदघाटन गर्दै गृहमन्त्री रामबहादुर थापा । साथमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई । तस्बिर : रासस
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले अहिलेको सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धि भएकाले भौतिक पुर्वाधार निर्माण ढिलाई गर्ने कारबाही गरिने कारबाही गरिने बताएको हो ।
उनले मुलुकका कुनै पनि भौतिक संरचनाको निर्माणमा संलग्न रहेर काम पूरा नगर्ने, बीचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्बन्धित मन्त्रालयले छानबीन गरेपछि कारबाहीका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने बताए ।
प्रशिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सडक निर्माणमा भएको ढिलासुस्तीका बारेमा समेत चासो राख्दै उनले यस्तो बताएको हो । २०७२ को असारमा (कन्काई) कम्पनीले दुई वर्ष्िभत्रै ग्राभेल गर्ने, नाली काट्ने कामसक्ने गरी सम्झौता गरे पनि हालसम्म काम पूरा नभएकोमा सञ्चारकर्मी लगायतले यस विषयमा मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।
यसैबीच मुलुकका विभिन्न सीमा क्षेत्रमा निकट भविष्यमा नै जनशक्ति उत्पादन गरी सुरक्षा व्यवस्था मिलाइने पनि उनले बताए । अहिलेको जनशक्तिले सबैतिर धान्न नसक्ने भन्दै चाँडै यसको व्यवस्थापन गर्ने तर्फ केन्द्रित भएको उनको भनाइ छ ।
यसअघि बहान जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको मन्त्री थापाले उद्घाटन गरे । एकवर्ष अघि करीब रु ६ करोडको लागतमा निर्माण भएको भवनको उद्घाटन गरेका हुन् ।










