नयाँ शक्ति नेपाल र संघीय समाजवादी फाेरम नेपालले पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता गर्न लागेको चर्चा राजनीतिक वृत्तमा चलन थालेको छ ।
हाल तीनवटै पार्टीका शीर्ष नेताहरूबीच एकताको लागि तीव्र रूपमा छलफल भइरहेको छ ।
यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकताका लागि छलफल चलिरहँदा उपेन्द्र यादव नेतृत्वको फोरमबाट पनि एकताको ‘ग्रिन सिग्नल’ पाएपछि नेकपाले छलफल सुरु गरेको हो ।
फोरमका अध्यक्षसमेत रहेका यादव उपप्रधानमन्त्रीसहित सरकारमा सहभागि भएपछि झन एकताको चर्चा बढी हुन थालेको छ ।
नेकपाका अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओली अहिले यादवसँग एकताको लागि छलफलमा रहेको बालुवाटार स्रोतले जनाएको छ । नयाँ शक्तिसँग भने नेकपाले छुट्टै छलफल चलाएको छ । स्रोतका अनुसार अबको केही महिनाभित्रै एकता गर्ने तयारी रहेको छ ।
फोरम र नयाँ शक्तिसँग एकै पटक एकता गर्ने भन्दै प्रचण्ड र ओलीले छलफल तिब्र रूपमा अगाडी बढाएको ओली निकट एक नेताले जानकारी दिए । प्रचण्ड निकट एक नेताले दिएको जानकारीअनुसार शुरूमा नयाँ शक्तिसँग एकता गर्ने छलफल चलिरहँदा फोरमसँग पनि एकताको छलफल अघि बढाएको हो ।
एकताबारे नेकपा, फोरम र नयाँ शक्तिको शीर्ष नेताबाहेक अरूलार्इ थाहा दिइएको छैन् । जस्तो तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबारे पनि केहि शीर्ष नेतालार्इ मात्रै जानकारी दिइएको थियो ।
अब छिट्टै एकता गर्ने बिषयको पुष्टि भने प्रचण्डले गरेका छन् । जेठ १३ गते कृष्णसेन इच्छुकको १६ औँ स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रममा प्रचण्डले भनेका थिए ‘हामीले केहि दलहरूसँग एकताको छलफल अघि बढाएका छौँ, अबको केहि दिनमै यसको परिणाम आउँछ ।’
कुन पार्टीसँग एकता गर्ने त्यतिबेला प्रचण्डले प्रष्ट नभनेपनि अहिले फोरम र नयाँ शक्तिसँग एकताको छलफल अन्तिम चरणमा पुगेपछि प्रष्ट भएको छ ।
स्रोतकाअनुसार फोरमसँगको एकताको छलफल अन्तिम अवस्थामा पुगेको छ । अबको केहि दिनभित्रमै त्यसको परिणाम सार्वजनिक हुने नेकपाका एक नेताले जानकारी दिए । ति नेताकाअनुसार नयाँ शक्तिसँग भने अझै केहि समय छलफलमै रहने संकेत देखिएको छ । एभरेस्ट दैनिक बाट साभार










