विष्णुप्रसाद पोखरेल दमक । झापामा पहिलो चोटी मेशिनरीको प्रयोग गरेर छरुवा धान खेतीको शुरुवात गरिएको छ । कृषि, भुमि ब्यबस्था तथा सहकारी राज्य मन्त्री राम कुमारी चौधरीले शनिवार एक कार्यक्रमबीच झापाको कचनकवल ६ बनियानीमा नविनतम प्रविधि प्रयोग अन्तर्गत ड्रम सिडर र सिड ड्रिल मेशिनबाट छरुवा विधिले धान खेतीको उद्घाटन गर्नु भएको हो ।

कृषि आधूनिकरण परियोजना कार्यन्वयन इकाइ बनियानीको आयोजनामा भएको छरुवा बिधिको धान खेतीको शुभारम्भ गर्दै राज्यमन्त्री चौधारीले सरकारले प्रविधिमा आधारित कृषि ब्यवसाय विस्तारलाइ महत्वपूर्ण कार्यक्रम तथा योजनाको रुपमा अघि सारेको भन्दै किसानमूखि कार्यक्रमहरु आउने बताउनु भयो । उहाँले मूलकलाइ कृषिमा आत्मनिर्भर बनाउने उदेश्य अनूरुप अघि बढिरहेको जनाउदै यसमा साथ दिन आग्रह गर्नु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश सभा सदस्य बसन्त बानियाले गाँउगाँउसम्म कृषिमा प्रविधिको प्रयोगले किसानहरुको दैनिकीमा सहजता ल्याउनुका साथै कृषि उत्पादनमा लागत कम गर्न यस्तो कार्यले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले अहिले यो परियोजनाले किसानहरुलाइ प्रविधिमा आकर्षित गराएको भन्दै यसलाइ विस्तार गर्नु पर्नेमा जोड दिनु भयो ।

हिल्याएर रोपाई गरिने धान खेतीको तुलनामा यसमा श्रम शक्ति कम लाग्ने, माटो हिल्याउन नपर्ने भएकोले पानी वचत हुनका साथै सिंचाई कम गर्दा हुने, सिडड्रिल मेशिनको प्रयोग गर्दा समय कम लाग्ने, महिलाहरुलाई हिलोमा लामो समयसम्म निहुरेररोपाई गर्दा स्वास्थ्य पर्न सक्ने प्रतिकूल असर न्यूनिकरण गर्ने, रोपाई गरेको धान भन्दा छरुवा धान केहि समय अघि नै पाक्ने जस्ता फाइदाहरु रहेको परियोजनाका बरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले बताउनु भयो ।

छरुवा धान खेती मध्य पहाडमा जेठ महिनाको पहिलो हप्तामा पर्याप्त चिस्यान भएको जग्गामा ३० देखि ३५ किलोग्राम बीउ प्रति हेक्टरको दरले सिधै रोप्न सकिने तिम्सिनाको भनाइ रहेको छ । छरुवा, हलोको पछाडि वा सिडड्रिल मेसिनबाट छर्न सकिन्छ । हलोको पछाडी वा सिडड्रिलबाट छरेको धानमा गोडमेल गर्न सजिलो हुन्छ । बीउ २ देखि ३ सेन्टिमिटर गहिराई माटोमा रोपिनु पर्दछ ।

धान छरेको २ देखि ३ हप्ता भित्र खाली ठाउँ देखिएमा बाक्लो बेर्ना भएको ठाउँबाट उखेली खाली ठाउँमा सार्न समेत सकिने बताईएको छ । यो झापामा पहिलो पटक शुरु गरिएकाले किसानहरुले अनौठो रुपमा लिएकाछन् । प्रारम्भिक चरणमा छ० बिगाह क्षेत्रफलमा यो प्रविधिको प्रयोगबाट धान रोपिएको तिम्सिनाले जानकारी दिनु भयो ।

कृषि प्राविधिकहरुका अनुसार नेपालको तराईका सम्पूर्ण जिल्लाहरु र मध्य पहाडी जिल्लाका बेसीहरुमा धान खेती गर्न सकिन्छ । २० देखि ३० डिग्री सेल्सियस तापक्रममा धानको राम्रो उत्पादन हुन्छ । फुल फुल्ने र दाना लाग्ने बेलामा ३५ डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएमा भुसको मात्रा बढन गई उत्पादन घट्छ । परम्परागत धान खेती जस्तै सबै किसिमको (बलौटे दुमट देखि गहै चिम्टाइलो) माटोमा छरुवा धान खेती गर्न सकिने बताइएको छ ।

परम्परागत पद्धती अनुसार २ देखि ३ पटक जोती, हिल्याएर पाटा लगाएको खेतमा नर्सरी व्याडमा तयार पारेको बेर्ना रोपिने गरिन्छ यसले गर्दा परम्परागत पद्धतीमा ज्यामी र कुल उत्पादन खर्च बढी लाग्ने भएकाले यो किसानका लागि लाभदायक हुने देखेको धान सुपरजोन कार्यन्वयन इकाइ सञ्चालक समिति अध्यक्ष नवराज भट्टराइले बताउनु भयो । परम्परागत पद्धतीमा भन्दा छरुवा पद्धतीमा उल्लेख्य मात्रामा ज्यामी कम लाग्ने र उत्पादन लागत पनि कम हुने हुँदा छरुवा धान खेतीप्रति आफूहरु समेत आकर्षित भएको भट्टराइको भनाइ छ ।