बिर्तामोड, जेठ २१ । झापा, मोरङ र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जना घाइते भएका छन । आइतबार साँझ झापाको बिर्तामोडमा को २१ प ७२०६ र मे ७ प १७५१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा कमल गाउँपालिका ७ का ४२ वर्षीय शेखरनाथ सेढाइ घाईते भएका हुन् । घाइतेको विएण्डसि अस्पतालमा उपचार भई रहेको छ । दुर्घटनामा संलग्न अर्का मोटरसाइकलका चालक फरार रहेकोले खोजिकार्य जारी रहेको प्रहरीले बताएको छ ।
यस्तै सुनसरीको कोशी गाउँपालिका ७ पूर्व पश्चिम राजमार्गमा को २ च ८४३ नम्बरको कार दुर्घटना हुँदा चालक घाईते भएका छन् । पूर्वतर्फ आउँदै गरेको सो कार अनियन्त्रीत भई सडकबाट करिब ५० मिटर तल खोल्सामा खस्दा मोरङ विराटनगर ३ का चालक अर्जुन बस्नेत घाइते भएका हुन् । उनको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।
उता मोरङको ग्रामथान गाउँपालिकामा दुई वटा मोटरसाइकल ठोक्किंदा चार जना घाइते भएका छन । मे ४ प ७३६२ र को ३३ प ८५१० नम्बरको मोटरसाइकल राती ९ बजे ग्रामथान गाउँपालिका २ पिडारबनीमा एक अर्कासंग ठोक्किएको थियो ।
घाइते हुनेमा मोरङ कानेपोखरी ७ का ३० वर्षीय धन बहादुर श्रेष्ठ, सोही ठाउँका ३० वर्षीय सुनिल श्रेष्ठ, ग्रामथान २ का १८ वर्षीय सुजन सरदार र सोही उमेरका धर्मेन्द्र माझी रहेका छन । घाइतेहरुको नोबेल अस्पताल विराटनगर र स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
त्यसैगरी मोरङ विराटनगर ४ स्थित एर्पोट सेकुवा कर्नर अगाडी साँझ ८ बजे को ३१ प ८६४१ नम्बरको मोटरसाइकलले ठक्कर दिएर एक पैदलयात्री घाइते भएका छन । पहिचान नखुलेका अन्दाजी ६०÷६५ वर्षीय पैदलयात्री घाईते भएका हुन् । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने ठक्कर दिने मोटरसाइकलका चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।










