नेपाल कम्युनिस्ट पार्टीकी नेतृ एवम् सांसद पम्फा भुसालले प्रतिनिधिसभा भवनमा कुर्सी र माइकका विषयलाई लिएर असन्तुष्टि जनाएकी छन् ।
सभामुखले समय दिएपछि भुसाल बोल्न खोज्दै थिइन्, उनको माइक चलेन । एकदुई पटक हातले आवाज चेक गरिन् । अझै चलेन । एकछिनपछि बल्ल चल्न थाल्यो ।
त्यसपछि बोलेकी भुसालले त्यही माइकका विषयमा असन्तुष्टि जनाइन् ।
उनले भनिन्–
'सम्माननीय सभामुख महोदय, म सर्वप्रथम त यही माइककै बारेमा बोल्न चाहन्छु ।
मलाई यो संसदमा आएर बस्दाको अनुभूति कस्तो भा’छ भने– म २०६४ को संविधानसभामा सदस्य थिएँ । हामी ६ सय १ जना थियौं । जता भेटे पनि गाली खाने अवस्था थियो ।
अहिले संविधान बनेपछिको यो पहिलो संसद हो । म प्राइमरी स्कूल पढ्दा अफिस कोठाबाहेक ढोका लाउने व्यवस्था थिएन । चकटी बोकेर लान्थ्यौं । भुइँमा बस्थ्यौं । अहिले मलाई यो संसदमा त्यही अनुभूति हुन्छ ।
म यहाँ जुन सिटमा बस्छु, यो माइकको हालत पनि यस्तै छ । ६०१ बाट २७५ मा पुगेको छ, मकहाँ पाखुरा राख्ने पनि ठाउँ छैन । दुईटा कुर्सीको एउटा पाखुरा छ । ताली बजाउने पनि ठाउँ छैन । सर्वप्रथम यो सिट एरेञ्ज गरियोस्, सबैका अगाडि टेल राखियोस्, गुणस्तरीय माइक राखियोस् ।’
त्यसपछि उनले सार्वजनिक सवारी साधनमा जथाभावी यात्रु कोच्ने गरेको र रिङरोड विस्तार गर्दा बाटो काट्ने ठाउँको व्यवस्था नभएको गुनासो गरिन् ।










