काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ को प्रदेशसभा बैठकमा विशेष सम्बोधन गरेका छन् । विशेष सम्बोधनमा ओलीले देशको विकास आँकडामा नभएर नागरिकको जीवनमा देखिनुपर्ने बताएका छन्। प्रदेश ३ को प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा ओलीले अझै पनि कतिपय क्षेत्रमा बस्ने तथा खाने र बालबालिका स्कुल जाने अवस्था नहुनु दुखद् भएको बताए।
उनले लोकतन्त्रमा राजनीतिक अधिकार मात्र नभएर नागरिकको अधिकारमा र उसको जीवनमा देखिनुपर्ने बताए। उनले भने, 'आज हामीले ल्याएको लोकतन्त्र भनेको राजनीतिक अधिकारमा सीमित लोकतन्त्र होइन, समाजिक र नागरिकको जीवनमा देखिनुपर्छ।' उनले भने, 'समग्र राष्ट्रका उत्पादनका आँकडा देखाएर हामी माथि छौँ भनेर देखाउँदा दुनियाँले चित्त बुझाओस् हामी चित्त बुझाउने पक्षमा छैनौँ। हामीलाई त प्रत्येक परिवारले खाना पाएको होस्। बालबालिका स्कुल पढ्न पाएको होस्। हरेक नेपालीले औपधि उपचार गर्न पाएको होस्।'
उनले हरेक नेपाली अधिकार सम्पन्न भएको हुनुपर्ने तथा उसका सबै अधिकार पाएको र उपभोग गरेको हुनुपर्ने बताए। त्यस्तै सबैलाई अधिकार समान रुपमा पाएको हुनुपर्ने असमान अधिकार सैह्य नहुने बताए।
उनले भने, 'सैद्धान्तिक रुपमा अधिकार त दिइयो तर अवसर दिइएन भने उसको विकास हुन सक्दैन, उसले अधिकार प्रयोग गर्न सक्दैन। अधिकार उपभोग गर्न सक्दैन भने उसलाई विशेष नीति बनाएर अधिकार उपभोग गर्ने बनाउनुपर्छ।' ओलीले सबैलाई समान अधिकार दिन र विकासको मूल मार्गमा ल्याउनका लागि सबै भाषा, क्षेत्र तथा जातजातीका लागि आरक्षण र समानुपातिक व्यवस्था गरिएको बताए।
उनले कुनै पनि नागरिकले अधिकार उपभोग गर्ने सामर्थ्य राख्दैन भने विशेष नीति तर्जुमा गरेर अगाडि बढ्ने नीति लिएको बताए।










