राज्यको सेवासुविधा लिएर सुन तस्करलाई टेवा पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआइजी रमेश खरेल र हेमन्त मल्लमाथि कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति सोमबार राति जारी गरेको हो ।सुन तस्करीलाई पक्षपोषण गर्ने गरी अभियान सञ्चालन गर्नुका साथै मिडियामा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री थापाले ती अधिकृतविरुद्ध प्रधानमन्त्री केपी ओलीलाई जानकारीसमेत गराएका छन् ।
नेपाल प्रहरीका पूर्वएआईजी भण्डारी, पूर्वडीआईजी मल्ल र खरेलले आइतबार संयुक्त रूपमा पत्रकारहरूसँग भेट गरी सुन तस्करीको अनुसन्धान त्रुटिपूर्ण रहेको अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै गृहमन्त्री थापाले आकस्मिक रूपमा प्रधानमन्त्रीलाई भेटेर छलफल गरेका हुन् । उनले सुन तस्करी छानबिन प्रभावित पु¥याउने गरी लबिङ गर्ने प्रहरीका पूर्वअधिकारीलाई कारबाही गर्न लागेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । निकै असन्तुष्ट बनेका गृहमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी पूर्वप्रहरी अधिकारीहरुको भनाइको खण्डन गर्दै उनीहरुलाई सचेतसमेत गराएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीबाट जारी विज्ञप्तिमा सुन तस्करीको संगठित अपराध अनुसन्धानका लागि गठित समिति र उसले सञ्चालन गरेका कामकारवाही लक्षित गर्दै विभिन्न व्यक्ति र संस्थामार्फत चलखेल भइरहेको भन्दै आपत्ति जनाइएको छ । ‘अनुसन्धान कार्यका सम्बन्धमा एवं सम्मानित अदालतमा विचाराधीन रहेका कतिपय संवेदनशील विषयमा भ्रामक धारणा सार्वजनिक भइरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्ति र त्यस प्रकारका भ्रामक तथ्यहीन विचार, अभिव्यक्तिबाट अनुसन्धान कार्यलाई गम्भीर असर पर्नसक्ने एवं अपराधीको मनोबल थप बढ्न सक्ने देखिएकोतर्फ सरकार सचेत छ,’ विज्ञप्तिमा भनिएको छ ।
सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती, एसएसपी श्याम खत्री, छिरिङ वांगेल घलेलगायत सबै अहिले प्रहरी हिरासतमा छन् । उनीहरूमाथि प्रहरीको अनुसन्धान जारी छ ।










