एजेन्सी । जोकोही फुटबल खेलाडीको पनि खेल्ने इच्छा राख्ने र विश्वमै सर्वाधिक दर्शक भएको लिग हो, इंग्लिस प्रिमियर लिग । यत्तिमात्र हैन फुटबलको जन्मदाता देश भएर पनि विश्वकपमा सधैँ विर्सनलायक प्रदर्शन गर्ने एकमात्र टोली पनि हो, इंग्ल्याण्ड ।
फुटबलको जन्मदाता तथा चर्चित देश इंग्ल्याण्डले विश्वकै चर्चित घरेलु फुटबल लिग मात्र हैन चर्चित खेलाडी पनि जन्माएको छ । डेभिड बेकह्याम, बाइने रुनी, जेरार्ड, लाम्पार्ड, बबि चाल्र्टन लगायत खेलाडीको जन्मदाता इंग्ल्यान्डको विश्वकप उपस्थिति भने फितलो छ । विश्वकपमा उपस्थिति दमदार बनाउन नसकेको इंग्ल्याण्डले विश्वकपको उपाधि १ पटक मात्र उचालेको छ । त्यो पनि ५२ वर्षअघि, सन् १९६६ मा आफ्नै भूमिमा भएको विश्वकप ।
फाइनलमा जर्मनीलाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको इंग्ल्याण्ड त्यसयता एक पटक मात्रै सेमिफाइनलमा पुगेको छ । सन् १९९० मा भएको विश्वकपको सेमिफाइनलसम्म पुगेपनि इंग्ल्याण्ड उही जर्मनीसँग पराजित भएको थियो ।
इतिहासमा इंग्ल्याण्ड अहिलेसम्म १४ पटक विश्वकप खेलेको छ ।
प्रतिभावान खेलाडी भए पनि यसअघिको विश्वकपमा चुक्दै आएको इंग्ल्याण्ड केही दिनमा हुने विश्वकपमा कस्तो प्रदर्शन गर्ला ? त्यो त विश्वकप सुरु भएपछि थाहा हुनेछ । यसपाली इंग्ल्यान्डलाई एउटा बलियो टोलीको रुपमा हेरिएको छ । यो विश्वकपले इंग्ल्याण्डलाई मौसमले पनि साथ दिने छ । भने यु–२० विश्वकप जितेको इंग्ल्याण्डलाई युवा खेलाडीको विषेश साथ हुनेछ ।
यसैबीच कुन खेलाडीको प्रदर्शन कस्तो रहने भन्ने विषयमा पनि चर्चा सुरु भएको छ । यसपटकको विश्वकपमा पहिलो पटक सहभागिता जनाएका र यसअघि फिफा यू–२० विश्वकपमा राम्रो प्रदर्शन गरिसकेका केही खेलाडीमा अहिले धेरैको आँखा परेको छ ।
इंग्ल्याण्ड रसिया विश्वकपमा समुह ‘जी’ मा छ । समुह ‘जी’ मा इंग्ल्याण्डसँगै बेल्जियम, पानामा र ट्युनिसिया रहेका छन् । इंग्ल्याण्डले विश्वकपको पहिलो खेल १८ जुनमा ट्युनिसियाविरुद्ध खेल्नेछ ।
यस्ता छन् चर्चाको केन्द्रमा इंग्ल्याण्डका खेलाडी
ह्यारी केन

युवा टोली इंग्ल्याण्डका कप्तान हुन् ह्यारी केन । केन यस सिजन इंग्लिस प्रिमियर लिगमा मोहम्मद सलाहपछि सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । टोटनह्यामबाट ब्यावसायिक फुटबल खेल्ने केनले यस सिजनको सबै खेलमा ४१ गोल गरेका छन् ।
सन् २०१५ मा राष्ट्रिय टिममा डेब्यु गरेका केनको यो पहिलो विश्वकप हो । रुस विश्वकपमा केनबाट समर्थकको उत्कृष्ट प्रदर्शनको अपेक्षा छ भने उनलाई यसपाली गोल्डेन बुट जित्ने खेलाडीको रुपमा पनि हेरिएको छ । केनले अहिलेसम्म राष्ट्रिय टोलीबाट खेलेका २४ खेलमा १३ गोल गरेका छन् ।
रहिम स्टर्लिङ

इंग्ल्याण्ड यसपटक युवा टोली लिएर रुस विश्वकपमा जाँदैछ । सहभागि ३२ राष्ट्रमध्ये इंग्ल्याण्डको टोली सबैभन्दा युवा रहेको छ । रहिम स्टर्लिङ इंग्ल्याण्डले पाएको प्रतिभाशाली युवा खेलाडी हुन् ।
२३ वर्षीय यी स्टर्लिङले अर्का युवा स्ट्राइकर तथा कप्तान ह्यारी केनसँग मिलेर इंग्ल्याण्डको फरवार्ड लाइन सम्हाल्दैछन् । स्टर्लिङ इंग्ल्यान्डकै म्यानचेस्टर सिटीबाट ब्यावसायिक फुटबल खेल्ने गर्छन । यो सिजन उनले क्लब प्रतियोगितामा २३ गोल गरेका थिए । राष्ट्रिय टोलीबाट उनले अहिलेसम्म २ गोल गरेका छन् । इंग्ल्याण्ड टोलीको यो विश्वकपमा स्टर्लिङ कै प्रशर्दनमा निर्भर छ ।
मार्कस रासफोर्ड

२० वर्षीय रासफर्ड घरेलु लिगमा म्यान्चेस्टर युनाइटेडबाट खेल्छन् । सेन्टर फवार्ड पोजिसनमा खेल्ने उनी आफ्नो क्लबबाट खेलेका सबै डेब्यु खेलमा गोल गर्ने खेलाडी हुन् ।
इंग्ल्याण्ड रासफोर्डको राम्रो प्ररण लिनेछ । २०१६ को युरोकपमा राष्ट्रिय टोलीमा डेब्यु गरेका रासफोर्डले राष्ट्रिय टोलीका लागि १८ खेलमा २ गोल गरेका छन् ।
विश्वकप लागि टोलीमा नपरेका हार्ट र बिल्सेयर
इंग्ल्याण्डबाट ७५ क्याप जितेका गोलकिपर जो हार्ट रुस विश्वकपका लागि इंग्लिस टोलीमा परेका छैनन् । ३१ वर्षे हार्टसँगै २६ वर्षे मिडफिल्डर ज्याक बिल्सेयर पनि प्रशिक्षक ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको टोलीमा समावेश छैनन् ।
इंग्ल्याण्डका लागि युरोकप २०१२, विश्वकप २०१४ र युरोकप २०१६ मा गरेर पछिल्लो तीन प्रमुख प्रतियोगितामा मुख्य भूमिका निर्वाह गरेका हार्ट यसपटक भने खराब लयमा रहेका कारण टोलीमा नपरको हुन् । यो सिजन प्रिमियर लिगमा म्यानचेस्टर सिटीबाट वेस्ट ह्याममा लोनमा रहँदा उनले अत्यन्तै खराब प्रदर्शन गरेका थिए ।
बिल्सेयर पनि एक पछि अर्को चोटका कारण राम्रो लय समात्न सकेका छैनन् । उनले इंग्ल्याण्डबाट ३४ खेलमा २ गोल गरेका छन् ।
विश्वकपका लागि इंग्ल्याण्डको राष्ट्रिय टिम
गोलकिपर : निक पोप, ज्याक बाटल्यान्ड, र जोर्डन पिकफोर्ड रहेका छन् ।
डिफेन्डर : जोन स्टोन, गरी काहिल, फिल जोन्स, ह्यारी मगुइरे, केल वाल्कर, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, एस्ले योङग, डानी रोज र किएरन ट्रिपर रहेका छन् ।
मिडफिल्डर : इरिक डाएर, जोर्डन हेन्डरसन, डेले अलि, रुबेन लफ्टस चिक, जेसे लिन्गार्ड, रहीम स्टरलिङ र फाबियन डेल्फ रहेका छन् ।
फरवार्ड : ह्यारी केन, जेमी भार्डी, डानी वेलब्याक र मार्कस रासफोर्ड रहेका छन् ।
-बाह्रखरी बाट



